शुक्र, कार्तिक ७, २०८३
15.1 C
Kathmandu

एकै दिन दुई आयोगमा केपी ओलीको बयान, दमन गर्न निर्देशन नदिएको दाबी

काठमाडौं । एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी ओलीले अन्ततस् जेन–जी आन्दोलनमा भएको दमन र विध्वंसको छानबिन गर्न गठित जाँचबुझ आयोगलाई बयान दिएका छन् । आयोगको संवैधानिक हैसियत र निष्पक्षतामाथि प्रश्न उठाउँदै बयान नदिने सार्वजनिक घोषणा गर्दै आएका ओलीले आइतबार निवासमै पुगेको आयोग टोलीलाई बयान दिएका हुन् ।

आइतबार नै ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा पनि बयान दिएका छन् । दुवै आयोगसँगको बयानमा ओलीले २३ भदौको आन्दोलनमा दमन गर्न आफूले निर्देशन नदिएको दाबी गरेका छन् । त्यसो त ओलीले सुरुदेखि नै जेन–जी आन्दोलनमा भएका घटनाको जिम्मेवारी लिन अस्वीकार गर्दै आएका छन् । जेन–जी आन्दोलनकै कारण ओली प्रधानमन्त्रीको पदबाट मुक्त भएका थिए ।

मानव अधिकार आयोगको कार्यालयमै पुगेका ओलीले जाँचबुझ आयोगको कार्यालय जान अस्वीकार गरी टोलीलाई घरमै बोलाएका थिए । जहाँ ओलीको लिखित र मौखिम बयान भएको जाँचबुझ आयोगका एक अधिकारीले बताए ।

मानव अधिकार आयोगमा ओलीको करिब दुई घण्टा बयान भएको थियो । आयोगले सदस्य लिली थापाको नेतृत्वमा छानबिन समिति गठन गरी जेन–जी घटनाबारे छानबिन गरिरहेको छ । समितिले पनि करिब दुई सयभन्दा धेरैसँग बयान तथा सोधपुछ गरेको छ । पुस महिनाभित्रै प्रतिवेदन बुझाउने गरी काम भइरहेको आयोगकी सदस्य थापा बताउँछिन् ।

ओलीसँगको बयानसँगै जाँचबुझ आयोगले पनि अब प्रतिवेदन लेखनलाई अघि बढाउने भएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज