आइत, कार्तिक २३, २०८३
18.1 C
Kathmandu

क्रिसमस डे मनाउँदै, नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी, १३ हजार चर्च

काठमाडौं । क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म यसराइलको वेथलेहेममा भएको थियो ।

ख्रीष्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन् । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासंघका अध्यक्ष सिबी गहतराजले जानकारी दिए ।

मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने गरिएको उनले बताए । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं २०६३ पछि महासंघले महोत्सवका रूपमा मनाउन थालेको उनले बताए ।

महासंघ मूल समारोह समितिको आयोजनामा क्रिसमस महोत्सव २०८२ आयोजना गरिएको छ । कार्यक्रममा सरकारका प्रतिनिधि, सरोकार भएका निकायका अधिकारी, मानव अधिकारवादीलगायतको उपस्थिति रहने उनले बताए ।

दिवसका अवसरमा बिहीबार सरकारले सार्वजनिक बिदा दिएको छ । महासंघको दाबीअनुसार हाल नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज