काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह हुँदैछ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक बिहीबार नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना आयोजना गरिएको विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक अर्यालले जानकारी दिए ।
समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । टोकियो विश्वविद्यालयमा आबद्ध उनले सन् २०१५ को भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार पाएका थिए ।
यसपटक त्रिविका १६ हजार ३ सयभन्दा बढी विद्यार्थी दीक्षित हुने जनाइएको छ । विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन् । यसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएको उपकुलपति प्रा डा अर्यालले बताए।
कार्यक्रममा विभिन्न संकाय तथा तहको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने ११ जना छात्रा तथा १४ जना छात्रलाई पदक दिइदै छ । त्रिविबाट यसपटक मानविकीका १४ हजार ८५१, व्यवस्थापनबाट ४३ हजार ६१०, कानुनका दुई हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ जना उत्तीर्ण भएका छन् ।
