काठमाडौँ । एमालेको ११औँ महाधिवेशन शनिबारदेखि हुँदै छ । उद्घाटन सत्रमा विभिन्न दलका अतिथि वक्ताका साथै एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।
उद्घाटन कार्यक्रमका लागि भक्तपुरको सल्लाघारीमा मञ्चलगायतका संरचना धमाधम सजाइँदै छन् । मञ्च व्यवस्थापन उपसमितिका संयोजक विनोद श्रेष्ठका अनुसार एकैपटक ४५० अतिथि अट्ने गरी मञ्चलाई चार भागमा विभाजन गरिएको छ ।
पूर्वबाट पश्चिमतर्फ फर्किएको मञ्चको दायाँबायाँ केन्द्रीय पदाधिकारी, सदस्य र सल्लाहकार मञ्चका सदस्य बस्नेछन् । बिच भागमा चाँगुनारायण मन्दिरको प्रतिमा राखिएको छ । नजिकै पोडियम रहनेछ ।
त्यसको तल भिभिआइपी र भिआइपी पाहुना बस्ने व्यवस्था गरिँदै छ । कलाकारको प्रस्तुतिका लागि छेउमै अर्को मञ्च तयार गरिँदै छ । १०८ रोपनी क्षेत्रफलमा फैलिएको चौरमा पाँच लाखसम्म सहभागीले सुन्न सक्ने अत्याधुनिक १०७ वटा स्पिकर राखिनेछन् । मञ्चको दायाँबायाँ दुईवटा मेघा स्क्रिन राखिनेछन् ।
