काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिका लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले सुदूरपश्चिमसँग उपाधि भिडन्त पक्का गरेको हो। उपाधि भिडन्त शनिबार ३ः३० मा सुरु हुनेछ।
गत सिजन सुदूरपश्चिम उपविजेता बनेको थियो भने लुम्बिनी अंक तालिकाको पुछारमा रहेको थियो।
बिहीबार दोस्रो क्वालिफायरमा लुम्बिनीले दिएको १३५ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट हुन पुग्यो।
सामान्य लक्ष्य भए पनि विराटनगरले खराब सुरूवात गरेको थियो । उसले ६ बलको अन्तरमा सुरुवाती तीन ब्याटरलाई गुमाएको थियो ।
टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले ८ विकेटको क्षतिमा १३४ रन बनाएको थियो ।
लुम्बिनीका लागि ओपनर डार्शी शर्टले ४५ रन र कप्तान रोहितकुमार पौडेलले ३४ रनको योगदान गरेका थिए।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको थियो। लुम्बिनीले भने इलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुगेको थियो।
लुम्बिनीले इलिमिनेटरमा बुधबार काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुगेको थियो । प्रतियोगिताको सुरुमा खराब प्रदर्शन गरेको लुम्बिनी पछिल्ला खेलमा लगातार विजयी हुँदै आएको छ ।
