काठमाडौं । मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र प्रतिबद्धताको लक्ष्यसहित ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ ।
दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिएका छन् । सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेको मानव अधिकारको विश्वव्यापी घोषणापत्रको स्मरणमा हरेक वर्ष यो दिवस मनाइन्छ ।
घोषणापत्रले जाति, धर्म, लिंग, भाषा, विचार, सामाजिक मूल वा जन्मका आधारमा कुनै भेदभाव नगरी सबैलाई समान अधिकार सुनिश्चित गरेको छ । नेपालको संविधानले विचार र अभिव्यक्तिको स्वतन्त्रता, स्वतन्त्रतापूर्वक भेला हुन पाउने स्वतन्त्रता र संगठन खोल्न पाउने स्वतन्त्रताको अधिकारको सुनिश्चितता गरेको छ ।
नेपाल सरकारले मानव अधिकारकर्मीको सुरक्षा र संरक्षण गर्नेसम्बन्धी आदेश, २०७७ समेत जारी गरेको छ ।
यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मानव अधिकारमैत्री बनाउँदै लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि आग्रह गरेका छन् ।
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा शुभकामना दिँदै उनले देशको वर्तमान परिस्थितिलाई सामान्यीकरण गर्दै लैजान सरकार, राजनीतिक दल, नागरिक समाज, युवापुस्ताका अभियन्ता र नागरिक सबैको संयोजनकारी र सकारात्मक भूमिका हुनुपर्ने औल्याएका छन् ।
संविधानमा व्यवस्था भएको नागरिकको मौलिक हकको पूर्ण कार्यान्वयनका लागि अझ बढी अग्रसरता लिनुपर्ने उल्लेख गरेका छन् ।
