काठमाडौं । जेन–जी आन्दोलनको मानवीय तथा भौतिक क्षतिको छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले अब उच्चपदस्थको बयान लिने तयारी गरेको छ । फिल्डमा खटिएका तथा अन्य केही उच्चपदस्थ कर्मचारीको बयान लिइसकेको आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी ओलीसम्मलाई बयानको दायरामा ल्याउने तयारी गरेको हो ।
आयोगले आन्दोलनका वेला काठमाडौंका प्रमुख जिल्ला अधिकारी रहेका सहसचिव छवि रिजाल तथा काठमाडौंका प्रहरी प्रमुख रहेका विश्व अधिकारी (हाल डिआइजी)सँग चार दिनदेखि बयान लिइरहेको छ । गत बुधबारदेखि उनीहरूको बयान लिन थालेको हो । आयोगका एक अधिकारीका अनुसार आइतबार पनि बयान लिइएको थियो, तर सकिएको छैन ।
२३ भदौमा जेन–जी आन्दोलनकारीमाथि बल प्रयोगमा मुख्य भूमिका भएकाले उनीहरूको बयान लामो भएको हो । सोमबार उनीहरूको बयान सकेर त्यसपछि तत्कालीन एआइजी र आइजिपीसँग बयान लिने आयोगको तयारी छ ।
आइजिपीपछि तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी हुँदै तत्कालीन गृहमन्त्री रमेश लेखक र तत्कालीन प्रधानमन्त्री केपी ओलीको बयान लिने तयारी आयोगको छ । आयोगको कार्यकाल अब करिब दुई हप्ता मात्र बाँकी रहेकाले बयानलाई तीव्रता दिएको छ । जेन–जी अगुवाले ओली र लेखकलाई पक्राउ नै गरेर बयान लिन दबाब दिँदै आएका छन् । जेन–जी अगुवा सुदन गुरुङले उनीहरूलाई कारबाहीको दायरामा नल्याए देशभर विरोध प्रदर्शन गर्ने चेतावनी दिएका छन् ।
