शुक्र, अशोज ९, २०८३
17.1 C
Kathmandu

नेताहरू पर्न थाले फन्दामा, पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा आठ अर्ब ३७ करोड भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले पाँच पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले तत्कालीन पर्यटनमन्त्रीहरू पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ, भीम आचार्य र दीपकचन्द्र अमात्य तथा तत्कालीन अर्थमन्त्री डा. रामशरण महतको संलग्नता किटान गरेको हो ।

बोगटीको निधन भइसकेकाले अख्तियारले उनकी पत्नी राममायालाई हकवाला प्रतिवादी कायम गरेको छ । चिनियाँ ठेकेदार सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडविरुद्ध पनि मुद्दा दायर भएको छ । उनीहरूले विमानस्थल निर्माणमा लागत अनुमानको तुलनामा अस्वाभाविक मूल्य बढाएर भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

विमानस्थल निर्माणका लागि स्वीकृत तथा बोलपत्रमा समेत आह्वान भएको लागत १६ करोड ९६ लाख ९७ हजार अमेरिकी डलर थियो । तर, त्यसलाई बढाएर २४ करोड ४० लाख ४० हजार ४५० डलरमा ठेक्का सम्झौता कार्यान्वयन गरेर भ्रष्टाचार गरिएको अख्तियारको निष्कर्ष छ । यसरी अस्वाभाविक बढाइएको लागत सात करोड ४३ लाख ४३ हजार ४५० अमेरिकी डलरलाई नै हरेक प्रतिवादीलाई बिगो कायम गरेर मुद्दा दायर गरेको छ जुन तत्कालीन नेपाली विनियम ११२.५५ रुपैयाँका दरले आठ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २९७ रुपैयाँ हुन्छ ।

भ्रष्टाचारमा डामिएका पूर्वसचिवहरूमा पर्यटन मन्त्रालयका सुशील घिमिरे र सुरेशमान श्रेष्ठ तथा अर्थ मन्त्रालयका सुमनप्रसाद शर्मा र कानुनका भेषराज शर्मा छन् । त्यस्तै, तत्कालीन समयमा पर्यटन मन्त्रालयमा सहसचिव रहेका मोहनकृष्ण सापकोटा, सुरेश आचार्य र रञ्जनकृष्ण अर्याल तथा अर्थ मन्त्रालयका सहसचिव मधुकुमार मरासिनी र भन्सार विभागका तत्कालीन महानिर्देशक सूर्यप्रसाद आचार्य पनि डामिएका छन् । उनीहरू सबै सचिवबाट अवकाश पाएका कर्मचारी हुन् । सचिवबाट अवकाश पाएका सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार डा. रामकृष्ण तिमिल्सिनाविरुद्ध पनि मुद्दा दायर भएको छ ।

नागरिक उड्डयन प्राधिकरणका तीन पूर्वमहानिर्देशक पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारमा तानिएका छन् । तत्कालीन महानिर्देशकद्वय त्रिरत्न मानन्धर र रतिशचन्द्रलाल सुमन तथा तत्कालीन उपप्रबन्धक प्रदीप अधिकारीविरुद्ध मुद्दा दायर भएको हो । पछिल्लो समय प्राधिकरणको महानिर्देशक रहेका अधिकारी भक्तपुर नलिन्चोकमा हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परेपछि निलम्बित छन् । अख्तियारको पक्राउमा परेका उनी आइतबारै विशेष अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान भएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन ०६७ मा प्राधिकरणले कायम गरेको सुरुको लागत अनुमान १४ करोड ५० लाख अमेरिकी डलरलाई विभिन्न चरणमा बढाएर भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

सम्बन्धित समाचार

ताजा न्यूज