काठमाडौं । २४ भदौको प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न पक्राउ पर्न थालेका छन् । आन्दोलनमा सहभागीलाई धरपकड नगर्न भन्दै गृह मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएपछि प्रहरी कारबाही सुस्त मात्र भएको थियो भने काठमाडौंमा हिरासतमा रहेका ५८ जना हाजिर जमानतमा छुटेका थिए ।
तर, मन्त्रालयले ‘आयोगको कार्यक्षेत्रमा रहने विषयमा सरकारका नियमित संयन्त्रबाट तत्काल कारबाही अघि नबढाइने’ भन्दै ९ असोजमा जारी गरेको विज्ञप्तिबारे गौरीबहादुर कार्की आयोगले स्पष्टीकरण दिएपछि कारबाही प्रक्रिया अघि बढेको हो । प्रहरीले पहिले छुटेकाहरूविरुद्ध समेत मुद्दा दर्ता गर्ने प्रक्रिया अघि बढाएको छ ।
२४ भदौमा बन्दुक तेर्स्याउँदै गरेको भाइरल फोटोमा भएका व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले सर्वोच्च अदालतबाट प्रहरीको एसएलआर लुटपाट गरेर देखाउँदै हिँड्ने सम्राट भनिने राजु परियारलाई पक्राउ गरेको हो ।
प्राविधिक पक्षको विश्लेषण गरेर प्रहरीले आन्दोलनलगत्तैदेखि उनलाई खोजी गरिरहेको थियो । प्रहरीका अनुसार, पक्राउपछि परियारले सर्वोच्च अदालतमा ड्युटीमा भएका प्रहरीले छाडेको हतियार लिएर गएको बयान दिएका छन् ।
प्रहरीका अनुसार, उनीविरुद्ध २० माघ २०६४ मा काठमाडौं र १४ असोज २०७० मा ललितपुरमा ज्यान मार्ने उद्योगमा मुद्दा चलेको देखिन्छ । पछि १३ पुस २०७५ मा उनी ठगी कसुरमा समेत प्रतिवादी बनाइएका थिए ।
उनीविरुद्ध प्रहरी वृत्त, महाराजगन्जमार्फत १७ पुस २०७९ मा बैंकिङ कसुर, ललितपुर प्रहरीमा ७ साउन २०८० मा ठगी, १० भदौ २०६५ र १३ पुस २०७५ मा अभद्र व्यवहार र १९ वैशाख २०७१ मा प्रहरी वृत्त, स्वयम्भूमार्फत ठगीसम्बन्धीमा मुद्दा दर्ता भएको थियो । उनले दोस्रो दिनको प्रदर्शनमा सहभागी भएर अराजकता मच्चाएका थिए ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले बुधबार जेन–जी भन्दै कर्मचारीलाई धम्क्याएको आरोपमा अर्जुनबहादुर शाहीलाई समेत पक्राउ गरेको छ । उपत्यका प्रहरी प्रमुख दानबहादुर कार्कीका अनुसार, उनको गतिविधिलाई लिएर गुनासो आएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो । जेन–जी आन्दोलनपछि ज्ञापनपत्र बुझाउने भन्दै विभिन्न सरकारी कार्यालयका प्रमुखलाई भेटेर उनले केरकार गर्दै आएका थिए । नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगमका कर्मचारीले उनको गतिविधिबारे गुनासो गरेका थिए ।
