काठमाडौं । नेपाल आयल निगम लिमिटेडले बुधबार रातिबाट लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाएको छ ।
मूल्य घटेपछि काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ कायम भएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट बुधबार दिउँसोबाट पेट्रोल २.५६ रुपैयाँका दरले घटेर आएकाले नेपाली बजारमा समायोजन गरेको निगमले जनाएको छ ।
डिजेलको मूल्य ०.२५ रुपैयाँले घटेर आए पनि यथावत् राखिएको छ ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले बुधबार पठाएको खरिद मूल्य अनुसार निगमले नयाँ भाउ तोकेको हो।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्गमा विभाजन गरेको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।
यो क्षेत्रमा अब पेट्रोलको भाउ १५६ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ।
त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १५८ रूपैयाँ प्रतिलिटर पर्नेछ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्।
यो क्षेत्रमा अब पेट्रोलको भाउ १५९ रूपैयाँ प्रतिलिटर पर्नेछ।
आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफै कच्चा तेल खरिद गर्दैन। आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र–पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ।
आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ।
त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ।
