काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनको माग तीव्र बन्दै गएपछि स्वैच्छिक राजीनामा अस्वीकार गर्दै आफूलाई बहुमत र प्रक्रियाबाट हटाउन चुनौती दिएका छन् । बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा आगामी २७ देखि २९ मंसिरसम्म पोखरामा ११औँ महाधिवेशनको प्रस्ताव गर्दै ओलीले वैधानिक प्रक्रियाबाट मात्र विकल्प खोज्न चुनौती दिएका हुन् ।
पार्टीभित्र आफ्नो नेतृत्व क्षमता र जेन–जी आन्दोलनले पुर्याएको क्षतिको नैतिक जिम्मेवारीमाथि नेता–कार्यकर्ता तहबाट प्रश्न उठ्न थालेपछि ओलीले अर्ली महाधिवेशनको विकल्प रोज्दै मिति प्रस्ताव गरेका हुन् । तर, विधानमा उमेरहद हटाएका ओलीले ११औँ महाधिवेशनमा नेतृत्वको दाबेदारीबारे भने स्पष्ट गरेका छैनन् ।
पार्टीभित्र आफ्नो विकल्प खोज्ने नेता–कार्यकर्तालाई केन्द्रीय कमिटी र महाधिवेशनमा बहुमत पुर्याउन खुला चुनौती दिएका ओलीले सामाजिक सञ्जालमा लेखिएको भरमा आफूले निर्णय नलिने बताए । पार्टी बैठक या वैधानिक फोरमबाहिर नेतृत्वमाथि उठाइने प्रश्न स्वीकार्य नहुने ओलीको चेतावनी छ । यद्यपि, उनले पार्टीपंक्तिलाई भावनात्मक एकताका लागि आह्वान गरेका छन् ।
‘मैले हट्नुपर्छ कि पर्दैन, यो (केन्द्रीय) कमिटीले भन्ने हो, फेसबुकले होइन । यो (केन्द्रीय कमिटी) आदेश दिने ठाउँ हो । यसको आदेश पालना गर्न सक्छु,’ ओलीले भने, ‘केन्द्रीय कमिटीले के भन्छ र महाधिवेशनले के भन्छ भन्ने प्रश्न हो । म व्यक्तिगत इच्छा पूरा गर्न राजनीतिमा हिँडेको होइन । यो देशको इच्छा पूरा गर्ने अगुवाइ यो पार्टीले गर्छ । पार्टीले जे भन्छ, त्यही हुन्छ । हट्ने पनि विधि र प्रक्रिया हुन्छ ।’
जेन–जी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रमले छविमा आएको ह्रासका कारण नेतृत्व बिदा हुनुपर्ने मत राख्ने एमालेका नेता–कार्यकर्ताप्रति पनि ओलीले आक्रोश पोखे । ‘कतिपय साथीहरूले मलाई भन्नुहुन्छ– तपाईंलाई बोकेर जानै सकिँदैन । किन बोक्नुपर्यो ? म आफैँ हिँड्छु । हिँड्न नसक्ने होइन, दौडन सक्ने अवस्थामा छु । बोक्नुपर्दैन ।’
ओलीले पार्टीका कतिपय नेता–कार्यकर्ताले कमिटीबाहिर अखबारबाजी गरेर लोकप्रियतावादका लागि काम गरेको आरोप लगाए । उनले जस्तोसुकै कठिन परिस्थितिको पनि सामना गर्ने बानी रहेको भन्दै उनले थपे, ‘घर जले पनि, मारिने अवस्था सिर्जना हुँदा पनि केपी ओलीले अँध्यारो मुख लगाउन जानेको छैन । केपी ओली हट्नुपर्छ भनेका वेला एकदम खुसीसाथ कमरेडहरूको आदेशमा हट्न तयार छु ।’
