मङ्ल, कार्तिक ११, २०८३
24.1 C
Kathmandu

दसैं यात्रा सहज बनाउन मन्त्री कुलमान घिसिङका ७ बुँदे निर्णय

काठमाडौं । दसैं यात्रा सहज बनाउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले शनिबार आधा दर्जन निर्णय गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ र सहरी विकासमन्त्रीसमेत रहेका घिसिङले सरोकारवालासँगको छलफलपछि सडक समस्या समाधानका लागि ७ बुँदे निर्णय गरेका हुन् ।

मन्त्री घिसिङले दसैंमा काठमाडौंबाट बाहिरिने यात्रुवाहक सवारीसाधन नागढुंगा सुरुङमार्गबाट चलाउने र बुटवल–नारायणगढको दाउन्ने खण्डमा दसैं अवधिभर ठूला सवारीसाधन (१२ चक्के र सोभन्दा माथि) सञ्चालनमा रोक लगाउने निर्णय गरेका छन् । तर खाद्यान्नलगायतका अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीसाधनलाई निरन्तर आवागमन हुने व्यवस्था गराइने मन्त्रालयले जनाएको छ । २४ सै घण्टा सडक अवस्थाबारे गुनासो सुन्न र त्यसको व्यवस्थापनबारे जानकारी दिन, पहिरोलगायतले सडक अवरोध भएमा तुरुन्तै पुनःस्थापनाको व्यवस्था गर्न उनले सम्बन्धित निकायलाई निर्देशन पनि दिएका छन् ।

दसैं नजिकिँदै गर्दा मुलुकका विभिन्न स्थानका सडक तथा राजमार्गमा पहिरो खसेर सवारी आवागमन प्रभावित हुने समस्या यथावत् छ । नारायणगढ–मुग्लिन सडकअन्तर्गत तुइन खोलामा पहिरो खसेर शुक्रबारदेखि सवारी आवागन ठप्प छ । शनिबार बिहान ठूलो पहिरो खसेकाले पन्छाउन समस्या भएको छ । पहिरो खसिरहेकाले तुरुन्त पन्छाएर सवारीसाधन सञ्चालन गर्न कठिनाइ भएको सडक विभागको भनाइ छ ।

नारायणगढ–बुटवल सडकको दाउन्ने खण्डमा उकालो र हिलोले गर्दा सवारीसाधन रोकिने र चिप्लने समस्या छ । अरनिको राजमार्गअन्तर्गत कोदारी खण्डमा पहिरो खसेर सडक सञ्चालनमा आउन सकेको छैन, जसले गर्दा तातोपानी नाकाबाट सामान आयात ठप्प छ, कन्टेनर वारपार गर्न सकेका छैनन् । सडक अवरोध हटाउन मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधिकारीसँग छलफल गरेका हुन् ।\

चाडबाडमा सबै कर्मचारी बिदा नबस्ने व्यवस्था मिलाएर सडक सहज रूपमा सञ्चालन गर्न लागिपर्ने उनले बताए ।

नागरिकलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गर्दै सार्वजनिक सूचना जारी गर्ने निर्णय भएको छ । सार्वजनिक सवारीसाधनलाई सुरक्षित तथा प्रविधिमैत्री बनाउने सम्बन्धमा कार्यविधि/निर्देशिका यातायात व्यवस्था विभागले तयार गरी यथाशीघ्र मन्त्रालयमा पेस गर्न मन्त्रीले घिसिङले निर्देशन दिएका छन् ।

सडकको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न २४ घण्टा नै सञ्चालन हुने गरी कन्टोल रुममा फोकल पर्सनको व्यवस्थापन गर्न सडक विभागलाई निर्देशन दिइएको छ ।

७ बुँदे निर्णय

–सुरक्षा व्यवस्था चुस्त बनाउन प्रहरी गस्ती र संख्या थप गर्न गृहलाई अनुरोध

–दाउन्ने खण्डमा खाद्यान्नलगायत अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारीसाधनलाई आवागमनको व्यवस्था

–मुलुकभरका मुख्य सडक चुस्त, दुरुस्त राख्न आवश्यक यन्त्रहरूको व्यवस्थापन

–बुटवल–नारायणगढ सडकको दाउन्ने खण्डमा चौबीसै घण्टा दुईतर्फी यातायात सञ्चालन गरिने

–नारायणगढ–मुग्लिन सडकको तुइन खोलाको पहिरो हटाई यातायात सञ्चालनमा ल्याइने

–तातोपानी नाकालाई जोड्ने मुख्य सडक दसैंअघि नै सञ्चालनको गृहकार्य

–मुलुकभर सडकहरूको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न चौबीसै घण्टा उपलब्ध हुने गरी कन्ट्रोल रुम सञ्चालन गर्न फोकल पर्सनको व्यवस्था

सम्बन्धित समाचार

ताजा न्यूज