काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्न आग्रह गर्दै गौशाला २६ को नामबाट उच्च सरकारी वकिलको कार्यालय, पाटनमा निवेदन परेको छ ।
क्रिकेटर सन्दिप लामिछाने मुछिएको बहुचर्चित बलात्कार मुद्दा उच्च अदालतले फैसला गरेका हो । गत शुक्रबार मात्रै फैसलाको पूर्णपाठ सार्वजनिक भएको थियो ।
‘एक किशोरी आएर निवेदन छाडेकी हुन्, पीडित नै स्वयम आएकी हुन् कि अरु आएका हुन् हामीलाई थाहा भएन’ उच्च सरकारी वकिलको कार्यालय स्रोतले भन्यो, ‘यो मुद्दाको कारण मलाई अन्यन्त तनाव भयो, झेल्नै नसक्ने अवस्थामा पुगेँ । मैले उच्च अदालत पाटनको फैसला स्वीकार गर्छु । सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिनुहोला भन्ने आग्र सहितको व्यहोरा उल्लेख रहेछ ।’
जिल्ला अदालतबाट क्रिकेटर सन्दिप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरी ८ वर्ष कैद फैसला भएको थियो । पीडितलाई नाबालिक भन्न नमिल्ने फैसला गरेको थियो । तर, उच्च अदालत पाटनले भने बलात्कारको वस्तुनिष्ट प्रमाणको अभाव रहेको र पीडित नाबालिग नदेखिएको भन्दै लामिछानेलाई सफाइ दिएको थियो ।
उच्च अदालतको फैसला बदर गर्नुपर्ने मागसहित सरकारी वकिल र पीडित गौशाला २६ सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन लिएर जाने बाटो खुला छ । उच्च अदालतको फैसला सार्वजनिक भइसकेपछि उच्च सरकारी वकिलको कार्यालयमा निवेदन पेश भएको हो ।
