काठमाडौं । सरकारले श्रमिकलाई न्यूनतम ज्याला नदिनेमाथि कारबाही गर्ने चेतावनी दिएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डा दीपक काफ्लेले तोकिएको न्यूनतम ज्याला श्रमिकलाई नदिए कानुनी विपरीत हुने भएकाले त्यस्तो रोजगारदातामाथि सरकारले कडा कारबाही गर्ने चेतावनी दिएका हुन् ।
बुधवार काठमाडौंमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धि राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उनले श्रमिकहरूको सामाजिक सुरक्षाको सुनिश्चित हुनेगरी सरकारले श्रमिकहरूको मापदण्ड नै बनाएर उनीहरूको मानव अधिकार हनन हुन नदिने गरी कार्ययोजनासहित काम गरिरहेको स्पष्ट पारे ।
शारीरिक र मानसिक रूपले श्रमदान गर्न नसक्ने अवस्थामा पुगिसकेपछि श्रमिकको जीवन रक्षाका लागि श्रममा आबद्ध भएको समयमा नै एउटा सामाजिक सुरक्षाको सुनिश्चितता गरिनुपर्दछ भन्ने सरकारको स्पष्ट मान्यता रहेको सचिव काफ्लेको भनाई छ ।
उनले भने ,‘न्यूनतम ज्याला प्रत्येक मानिसले पाउनुपर्दछ । श्रम मापदण्ड हुनु पर्दछ भन्ने हिसाबमा नै कार्ययोजना बनाएर काम गरिएको छ ।’
सचिव काफ्लेले श्रमका लागि बाहिर गएका नागरिकहरूको पनि मानव अधिकार हनन हुन नदिन सरकार प्रतिबद्ध भएर लागि परेको दाबी गरे ।
