काठमाडौं । नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । बैठकमा पहिलोपटक वरिष्ठ नेताका रुपमा विद्यादेवी भण्डारी पनि सहभागी हुने भएकी छिन् ।
बिहीबार पार्टी कार्यालय च्यासलमा बिहीबार दिउँसो १ बजे बैठक बस्ने एमालेले जनाएको छ । एमाले केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीमा सम्पूर्ण पदाधिकारी रहने र त्यसमा थप ७ जनालाई मनोनीत गरेको थियोे ।
यस्तै बैठकले पूर्व राष्ट्रपति विद्या भण्डारीलाई वरिष्ठ नेताका रुपमा मनोनयन गरेको थियो । मनोनयनपछि बोलाइएको पहिलो बैठकमा भण्डारीको सहभागिता हुन लागेको हो ।
स्थायी कमिटीमा पदाधिकारीबाहेक पूर्ववरिष्ठ नेता ईश्वर पोखरेलसहित प्रदीप ज्ञवाली,काशीनाथ अधिकारी, देवराज घिमिरे, लालबाबु पण्डित, थममाया थापा र शिवमाया तुम्बाहाङ्फे रहने भएका छन् ।
बैठकले केन्द्रीय कमिटीद्वारा प्रत्यायोजित अधिकार प्रयोग गर्दै विभिन्न तहका जिम्मेवारीबारे निर्णय गर्ने भएको छ । त्यसअन्तर्गत केन्द्रीय सदस्य, पोलिट्ब्युरो, स्थायी कमिटीका थप सदस्य, ज्येष्ठ कम्युनिष्ट मञ्चसहित विभिन्न विभागका सदस्यको जिम्मेवारी टुंगो लाग्ने बताइएको छ ।
