काठमाडौं । लिओनेल मेसीले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेलमा एक गोल र दुई असिस्ट गर्दै अर्जेन्टिनालाई बेनिनविरुद्ध ३–० को जित दिलाएका छन् । अर्जेन्टिना फुटबल संघले मेसीको सम्मानमा बिदाइ खेल आयोजना गरेको हो ।
३९ वर्षीय मेसीले यससँगै अर्जेन्टिनाबाट आफ्नो २०८औं तथा अन्तिम खेल खेल्दै अन्तर्राष्ट्रिय करिअरको सुखद् अन्त्य गरेका छन् ।
अर्जेन्टिनाका लागि निकोलास ओटामेन्डीले मेसीको कर्नरमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि निको पाजले मेसीकै सरल पासमा उत्कृष्ट गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए ।
मेसीले पनि पेनाल्टीमार्फत गोल गरे । अगस्टिन जियालाई विपक्षी खेलाडीले पेनाल्टी क्षेत्रमा लडाएपछि प्राप्त पेनाल्टीमा मेसीले गोल गरेका हुन् ।
खेल सुरु हुनुअघि राष्ट्रिय गान बज्दा मेसी भावुक बनेका थिए । आफ्नो अन्तिम राष्ट्रिय खेलका लागि मैदानमा उत्रनुअघि उनले आँसु रोक्ने प्रयास गरेका थिए ।
आठपटक बालोन डी’ओर जितेका मेसीको अन्तर्राष्ट्रिय करिअरको सम्मानमा खेलपछि विशेष बिदाइ समारोह आयोजना गरिएको छ ।
अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले मेसीको अन्तिम खेलसँगै फुटबलमा एउटा युगको अन्त्य भएको बताएका छन् ।
