सोम, कार्तिक ३, २०८३
23.1 C
Kathmandu

दशैँ नजिकियो, खसी–कुखुरा सहित सबै मासुको भाउ अकासियो, नियामक निकाय मौन

काठमाडौं । बजारमा खसी, कुखुरा, राँगा, बंगुर सबै मासुको भाउ अचाक्ली बढेको छ । गत चैतमा देखिएको बर्डफ्लुका कारण कुखुराको मासु, कुखुराको अन्डा र खसीको मासुको भाउ बढेको व्यवसायीको तर्क छ । त्यस्तै, राँगा र बंगुरको मासुको भाउसमेत मागअनुसार आपूर्ति हुन नसकेको र ढुवानी लागत बढेको कारण देखाएर वृद्धि गरिएको छ ।

४ चैतमा देखापरेको बर्डफ्लु चार महिनापछि असार अन्तिममा मात्रै नियन्त्रणमा आएको थियो । चार महिनासम्म बर्डफ्लु फैलिँदा ठुलो दरले उत्पादनमा ह्रास आएको लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिए । उत्पादनमा ठुलो कटौती भएका कारण अहिले कुखुराको अन्डाको भाउ तीव्र रूपले बढेको उनको दाबी छ । संघले बुधबारदेखि लागू हुने गरी अन्डाको भाउ प्रतिक्रेट ६१५ रुपैयाँ निर्धारण गरेको छ । यसअघि १९ भदौबाट लागू हुने गरी प्रतिक्रेट ६०५ रुपैयाँ मूल्य तोकिएको थियो ।

चैतमा बर्डफ्लु सुरु हुनुअघि लेयर्स कुखुरापालक संघले प्रतिक्रेट ५३५ रुपैयाँ मूल्य निर्धारण गरेको थियो । तर, बर्डफ्लु संक्रमण बढेर खपत न्यून भएपछि मूल्य घटेर ४७५ रुपैयाँसम्म कायम गरिएको थियो । तर, बर्डफ्लु संक्रमण हटेपछि भने माग बढेको, तर उत्पादनमा सुधार नभएकाले मूल्यमा चाप परेको संघको दाबी छ । साउनमा चारपटक र भदौमा दुईपटक भाउ बढाइएको थियो ।

बंगुरको मासुको मूल्य पनि प्रतिकिलो ५० रुपैयाँले बढेको व्यवसायीले बताएका छन् । धराने कालो बंगुरको मासुको मूल्य प्रतिकिलो ६ सयबाट ६५० पुगेको र सेतो बंगुरको मासुको मूल्य ५५० बाट बढेर ६ सय रुपैयाँ प्रतिकिलो पुगेको संघले जनाएको छ ।उपत्यकामा दैनिक २५० वटासम्म बंगुर काट्ने गरिएको संघले जनाएको छ । ‘बफ’ र ‘पोर्क’को मागअनुसार आपूर्ति भइरहे पनि ढुवानी लागतमा भएको वृद्धिका कारण भाउ बढेको संघको दाबी छ ।

माछाको पनि भाउ बढेको छ । एकदेखि डेढ किलोसम्मको जिउँदो रहु माछा प्रतिकिलो ४५० रुपैयाँ थियो, अहिले ५०० रुपैयाँ पुगेको छ । त्यस्तै, दुई केजीभन्दा बढी तौल भएको रहु माछाको भाउ प्रतिकिलो ६५० रुपैयाँबाट ७०० पुर्‍याइएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज