काठमाडौं । अविरल वर्षापछि आएको बाढी पहिरोले पश्चिम नेपालमा ठुलो मानवीय तथा भौतिक क्षति भएको छ । तीन दिनको बाढी पहिरोमा २४ जनाको मृत्यु भएको भने १४ जना बेपत्ता भएका छन् । बाढीले तराईका केही जिल्लामा डुबान र कटान गरेको छ । बाढी पहिरोले मनाङ, म्याग्दी, बागलुङ, पर्वत, पाल्पालगायत जिल्लामा ठुलो क्षति पुर्याएको छ ।
गण्डकीका बागलुङमा १०, म्याग्दीमा ६ र मनाङमा दुई तथा लुम्बिनीको पाल्पामा पाँचजनाको ज्यान गएको छ । त्यस्तै, पहिरोमा परेर धनुषाको मिथिला नगरपालिका– १० आँपगाछीमा एकजनाको मृत्यु भएको छ ।
बाढी–पहिरो प्रभावित जिल्लामा १४ बेपत्ता छन् । मनाङमा १०, म्याग्दीमा ३ र बाग्लुङमा १ जना बेपत्ता रहेको प्रहरी तथ्यांक छ । त्यस्तै, लम्जुङमा २ तथा बाग्लुङ र म्याग्दीमा १–१ जना घाइते भएका छन् । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यसपालि कालीगण्डकी नदीले धेरै क्षति पुर्याएको छ । त्यस्तै, नारायणी र तिनाउ खोलाले पनि कटान र डुबान गरेको छ । बाढी र पहिरोबाट ७४७ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएको प्राधिकरणले जनाएको छ । १४३ घर पूर्ण रूपमा र ५१ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् ।
गण्डकीमा १८ को मृत्युगण्डकी प्रदेशमा मात्रै १८ जनाको मृत्यु भएको छ भने १४ बेपत्ता छन् । यो पछिल्लोपटक पानी पर्न थालेको बिहीबारयताको तथ्यांक हो । बागलुङमा एकै परिवारका चारसहित १०, म्याग्दीमा ६ र मनाङमा दुईजनाको ज्यान गएको हो । प्रदेशका विभिन्न जिल्लामा गरी ४३० घरका गरी एक हजार पाँच सयजना विस्थापित भएका छन् ।
