सोम, कार्तिक ३, २०८३
23.1 C
Kathmandu

पूर्वप्रधानन्यायाधीश जबरालाई किन पक्राउ गरियो ? किन त्यसै छाडियो ? खुलाइएन कारण

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले मध्यराति पक्राउ गरी करिब ११ घण्टासम्म नियन्त्रणमा राखेर सोधपुछ गरेको छ । सरकारविरोधी गतिविधिमा संलग्न रहेको भनिएको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । जबराको पक्राउको प्रक्रिया, पारदर्शिता र समयलाई लिएर गम्भीर प्रश्न उठेका छन् ।

नेपालमा पूर्वप्रधानन्यायाधीश पक्राउ परेको यो पहिलो घटना हो । राष्ट्रिय मानव अधिकार आयोगले प्रहरीको कदम संवैधानिक तथा कानुनी अधिकारविपरीत भएको भन्दै जबराको पक्राउप्रति प्रश्न उठाएको छ । कानुनविद्देखि विपक्षी दलका नेताहरूले समेत सरकारको आलोचना गरेका छन् ।

प्रहरीले भने पक्राउ गरेको नभई सुरक्षा थ्रेट भएकाले प्रहरी कार्यालयमा ल्याइएको दाबी गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली शनिबार मध्यराति जबराको बाँसबारीस्थित निवासमा पुगेको थियो । जहाँ करिब डेढ घण्टापछि प्रहरीले उनलाई नियन्त्रणमा लिई टेकुस्थित कार्यालय पुर्‍याएको थियो । जहाँ सोधपुछ गरेर दिउँसो करिब १ बजे परिवारको जिम्मा लगाएर छाडिएको छ ।

जेन–जी युवाबाट थ्रेट रहेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको दाबी गरेको छ । तर, केही घण्टामै घरमै पठाउनुले घटना रहस्यमय बनेको छ । स्रोतका अनुसार जबराको भेटघाट र सक्रियता पछिल्लो समय बढेको थियो । अदालतमा मुद्दाका वादी–प्रतिवादीसँग उनको भेटघाट बढेको सूचना प्रधानमन्त्री कार्यालयमा पुगेको थियो । साथै, केही विपक्षी नेताहरूसँग पनि उनको साँठगाँठ रहेको निष्कर्षका आधारमा उनलाई पक्राउ गर्न प्रधानमन्त्री कार्यालयबाटै निर्देशन गएको थियो ।

उक्त निर्देशनकै आधारमा प्रहरीले उनलाई मध्यराति नै पक्राउ गरेको हो । लामो गलफतीपछि डिएसपी नेतृत्वको टोलीले सुरक्षाका लागि भन्दै उनलाई गाडीमा राखेर लिएर गएको हो । टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा राखेर उनलाई विभिन्न विषयमा सोधपुछ गरिएको स्रोत बताउँछ ।

पूर्वप्रधानन्यायाधीशका रूपमा उनको निवासको सुरक्षामा पनि नेपाल प्रहरी खटिएका छन् । साथै, सामान्य अवस्थामा कसैलाई सुरक्षा थ्रेट हुँदा यसरी कार्यालयमा लगिने चलनसमेत नभएको पूर्वप्रहरी अधिकारी बताउँछन् ।

सम्बन्धित समाचार

ताजा न्यूज