काठमाडौं । नाता कायमसम्बन्धी मुद्दामा प्रत्यक्ष प्रमाण नभेटिएको अवस्थामा परिस्थितिजन्य प्रमाण महत्वपूर्ण हुने फैसला सर्वोच्च अदालतले गरेको छ । एक महिलाले आफूलाई प्रेमविवाह गरी पछि धोका दिएको भन्दै नाता कायम गर्न दिएको मुद्दामा सर्वोच्चले परिस्थितिजन्य प्रमाणलाई आधार बनाएर यस्तो फैसला गरेको हो ।
सुनसरीको दुहबीकी पवित्रा खड्काले सोही पालिकाका मोहनकुमार चौधरीविरुद्ध दिएको मुद्दा सर्वोच्चले किनारा लगाउँदै नाता कायम गराउने फैसला गरेको छ । सर्वोच्चका न्यायाधीशहरू नृपध्वज निरौला र महेश शर्मा पौडेलको इजलासले फैसला गरेको हो ।
महिलाको दाबीअनुसार ०६४ मा विराटनगरको मेट्रोपोलिस क्याम्पसमा अध्ययनका क्रममा चिनजान भई उनीहरू प्रेम सम्बन्धमा गाँसिएका थिए । अन्तरजातीय सम्बन्ध भएका कारण परिवारले अनुमति नदिएपछि ७ साउन ०७२ मा उनीहरूले पशुपतिनाथ मन्दिरमा विवाह गरेका थिए । त्यसपछि कीर्तिपुरमा डेरा लिएर एक वर्षसम्म पति–पत्नीका रूपमा सँगै बसेको महिलाको जिकिर छ । सो कुरा परिवारले थाहा पाएपछि औपचारिक रूपमै विवाह गराइदिने आश्वासन दिएर गाउँ बोलाएको, तर त्यसपछि श्रीमान् आफूसँग टाढिएको उनको फिरादपत्रमा उल्लेख छ ।
उनले श्रीमान्–श्रीमतीको सम्बन्ध कायम गराइपाऊँ भनी जिल्ला अदालत, सुनसरीमा फिरादपत्र दिएकी थिइन् । मोहनले भने सामान्य चिनजान भए पनि पवित्रासँग कुनै सम्बन्ध नभएको जवाफ अदालतलाई फर्काएका थिए । यसमा विवाहको प्रमाण नपुगेको भन्दै जिल्ला अदालतले ३ वैशाख ०७६ मा नाता कायम हुन नसक्ने फैसला सुनाएको थियो ।
जिल्लाको फैसलाविरुद्ध महिलाले उच्च अदालत, विराटनगरमा पुनरावेदनपत्र पेस गरिन् । उच्चले १९ फागुन ०७७ मा महिलाको पक्षमा फैसला सुनाउँदै नाता कायम हुने ठहर गरेको थियो । साक्षीले गरेको बकपत्रलाई आधार बनाई उच्चले जिल्लाको फैसला उल्टाएको थियो । उच्चको फैसलाविरुद्ध मोहनले सर्वोच्चमा पुनरावेदनपत्र दर्ता गरेकामा सर्वोच्चले उच्चको फैसला सदर गर्दै महिलाकै पक्षमा फैसला सुनाएको हो ।
साक्षीको बकपत्र तथा परिस्थितिजन्य प्रमाणलाई आधार मानेर सर्वोच्चले नाता कायम हुने फैसला गरेको छ । फैसलामा भनिएको छ, ‘यी लिखित तथा प्रत्यक्ष प्रमाणका अतिरिक्त वादी–प्रतिवादीबिच लामो समयदेखि प्रेम सम्बन्ध रहेको, पशुपतिनाथ मन्दिरमा विवाह भएको दाबी रहेकामा वादी–प्रतिवादीबिच सँगै खिचेको फोटो रहेको तथा विवाहपश्चात् कीर्तिपुरमा एउटै कोठामा बसेको तथ्य (जुन कुरा प्रमाण ऐन, २०३१ को दफा ७ को खण्ड (ग) अनुसार अदालतले अनुमान गर्न सक्ने) जस्ता परिस्थितिजन्य प्रमाणका परिदृश्यमा पनि वादी–प्रतिवादीबिच विवाह भएको कुरा थप रूपमा स्थापित हुन आएको छ ।’ पवित्रा तथा मोहनबिचको अंशसम्बन्धी मुद्दामा पनि हजुरबुबा र काकाले दिएको निवेदनमा उनीहरूबिचको सम्बन्धलाई स्वीकार गरेको विषयलाई समेत प्रमाणका रूपमा लिएको छ ।
