काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्तिमा परेका नागरिकलाई होच्याउने अन्ध समर्थक नचाहिएको बताएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै सभापति लामिछानेले शोक र पीडामा परेका भुईमान्छेको पक्षमा उभिने र उनीहरूको आँसु पुछ्ने समर्थक चाहिएको बताए ।
‘नागरिकको आक्रोश र चित्कारलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई छैन’, उनले भने, ‘यदि रास्वपाको कुनै पनि तहको सदस्य वा पदाधिकारीले विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्नेलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निकालिनेछ ।’
लामिछानेले भोटेकोशीको बाढी प्राकृतिक विपत्ति नभई जलवायु सङ्कटको परिणाम भएकाे र यस विषयमा न्यायका लागि पहल गर्नुपर्ने बताए । आफूले नगरेको गल्तीमा उनीहरूले ज्यान गुमाएको भन्दै लामिछानेले बाढीमा परेर मृत्यु हुनेहरूलाई ‘जलवायु अन्यायपीडित’को संज्ञा दिए । ‘भोटेकोसी बाढीमा ज्यान गुमाउनेहरू जलवायु अन्यायका पीडित हुन्,’ उनले भने, ‘हामीले संकल्प गर्नैपर्छ, यो सहादतलाई जलवायु न्यायको औजार बनाएर जलवायु न्यायको ढोका ढकढकाउनेछौं ।’
विपद्को यो घडीमा प्रभावित क्षेत्रका बासिन्दाले देखाएको एकताको उनले उच्च प्रशंसा गरे । लामिछानेले भने, ‘यति ठुलो सङ्कट र अपूरणीय क्षति व्यहोर्दा पनि उहाँहरू एक अर्काको हात समातेर उभिइरहनु भएको छ, यो साहस र एकता नै हाम्रो शक्ति हो।’
