काठमाडौं । साढे पाँच महिनापछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री एवं कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १४औँ महाधिवेशन पक्षधर कांग्रेसका नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका छन् । देउवालाई विमानस्थलमा बाजागाजासहित नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका हुन् । देउवाको पक्षमा नाराबाजीका साथै बाजागाजा, देउडादेखि लोकभाकासम्म घन्केको थियो । विमानस्थलबाट देउवा सिधै चुनदेवीस्थित १४औँ महाधिवेशन पक्षधरको सम्पर्क कार्यालय पुगेका थिए ।
चुनदेवीमा देउवाका लागि छुट्टै कार्यकक्षको व्यवस्था गरिएको छ । देउवाको नेमप्लेट राखिएको छ । जहाँ ‘शेरबहादुर देउवा’ सभापति लेखिएको छ । राष्ट्रिय भेला आयोजक समितिका संयोजक पूर्वमहामन्त्री शशांक कोइरालाको बेग्लै कार्यकक्ष छ । सम्पर्क कार्यालय पुगेपछि नेता तथा कार्यकर्तालाई संक्षिप्त सम्बोधन गर्दै देउवाले आफूविरुद्ध भइरहेका षड्यन्त्र र कानुनी उल्झनहरूबाट आफू विचलित नहुने बताए । ५० वर्ष लामो राजनीतिक जीवनमा भ्रष्टाचारको कुनै दाग नलागेको उनले दाबी गरे । अदालत जान आफू नडराएको पनि बताए । ‘अदालतसम्म गाको छ, १० पटकसम्म आउनु भन्छ । १० पटक आयो, केही छैन भन्छ । ११ पटक आयो, २० पटक आयो, केही छैन । किनभने अहिलेसम्म ५० वर्ष काम गर्या छ, एक रुपैयाँ कतैबाट तलमाथि भन्या कुरा छैन,’ उनले भने ।
देउवाले अदालत र जनताले सबै कुरा बुझेको भन्दै आफूविरुद्ध लाग्नेहरूलाई समयले नै उत्तर दिने बताए । ‘यो देशमा जनता छ । यो देशमा अदालत छ । सबैले जानेबुझेको छ । राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्लान् यहाँ !’ देउवाले भने । पक्राउ पुर्जी लिएर पक्राउ गर्न खोजेको विषयसमेत उनले निकाले । ‘हाम्रो खिलापमा मुद्दा हाल्यो । अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टमा पनि मुद्दा हालेका थिए, तर शेरबहादुर र आरजुलाई पक्रेर काम छैन भनिदियो । यहीँ पनि मुद्दा लगाएको छ, यस्तो फटाहाहरू छन् यहाँ,’ देउवाले भने, ‘सर्वोच्चले पनि शेरबहादुर र आरजुलाई पक्राउ नगर भन्ने आदेश दियो । तैपनि बदमासी गर्यो ।’
देउवाले सम्पत्ति शुद्धीकरण अनुसन्धान आयोगले पटक–पटक आफूहरूमाथि अनुसन्धान गरेको पनि बताए । ‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग छ यहाँ पनि, एकपटक आयो, केही छैन भन्यो । दोस्रोपटक आयो केही छैन भन्यो । उसलाई निकालिदियो । यतिसम्म बदमासीपूर्ण काम गरेको छ । तर, मलाई बदलाको भावना लिनुछैन,’ उनले भने ।
देउवाले गणतन्त्र कसैले उल्ट्याउन नसक्ने बताए । मुलुकमा गणतन्त्र आफूले चाहेर मात्र नभई जनताले चुनेको संविधानसभाले ल्याएको बताए । ‘म धेरै कुरा गर्ने पक्षमा छैन, संविधानसभाको पहिलो बैठकले नेपालमा गणतन्त्र ल्याएको हो, गणतन्त्र । मैले मात्रै चाहेर ल्याएको हो ? संविधानसभाले ल्याएको हो गणतन्त्र । मैले मात्र चाहेको भए आउने पनि थिएन, मैले चाहेर जाने पनि होइन । नेपाली जनता सबैभन्दा ठुलो हो । जनता मालिक हो । मालिकले जे भन्यो त्यही हुन्छ,’ उनले भने ।
संस्थापनले खोज्यो देउवाको अभिभावकीय भूमिका
कांग्रेस संस्थापन पक्षले निवर्तमान सभापति शेरबहादुर देउवाको अभिभावकीय भूमिका खोजेको छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले देउवा उपचारपछि स्वदेश फर्किएकोमा स्वागत गर्दै पूर्ण स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।
‘कांग्रेस केन्द्रीय कार्यसमितिको यो बैठक पार्टीका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री श्री शेरबहादुर देउवा लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्कनुभएकोमा हार्दिक स्वागत गर्दछ । यो बैठक उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गर्दछ,’ बैठकपछि प्रवक्ता देवराज चालिसेले जारी गरेको विज्ञप्तिमा छ, ‘कांग्रेसको गर्विलो इतिहास निर्माणमा उहाँको भूमिका एवं लोकतान्त्रिक आन्दोलनमा गर्नुभएको नेतृत्वप्रति हार्दिक सम्मान प्रकट गर्दछ । पार्टी र देशमा विधि र पद्धति स्थापित गर्न लामो संघर्ष गर्नुभएका आदरणीय नेताले विशेष महाधिवेशनमार्फत पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्दै समयसापेक्ष र गतिशील नेपाली कांग्रेस निर्माणका लागि निवर्तमान सभापतिका रूपमा अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा यो बैठक पूर्ण विश्वास व्यक्त गर्दछ ।’
