मङ्ल, कार्तिक ४, २०८३
19.1 C
Kathmandu

पत्रकार किशोर श्रेष्ठ पक्राउको चौतर्फी विरोध, संविधानविपरीत सञ्चार सामग्री जफत

काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै आधारमा प्रहरीले पक्राउ गरेपछि चौतर्फी विरोध भएको छ । श्रेष्ठलाई पक्राउ गरेको प्रहरीले संविधानविपरीत उनको साप्ताहिक पत्रिका जनआस्था र आनलाइन पोर्टल रहेको कार्यालयदेखि घरसम्म छापा मारेर सञ्चार सामग्री जफत गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले कार्यालयबाट ६ कम्प्युटर र टेलिफोन जफत गरेको श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले बताइन् ।

नेपालको संविधान, २०७२ को धारा १९ को उपधारा २ मा समाचार प्रकाशन वा प्रसारण गरेकै आधारमा कुनै पनि सञ्चारमाध्यम बन्द, दर्ता खारेजी वा सामग्री जफत गर्न नपाइने व्यवस्था छ । ‘कुनै श्रव्य, श्रव्यदृश्य वा विद्युतीय उपकरणको माध्यम वा छापाखानाबाट कुनै समाचार, लेख, सम्पादकीय, रचना, सूचना वा अन्य कुनै सामग्री मुद्रण वा प्रकाशन, प्रसारण गरे वा छापेबापत त्यस्तो सामग्री प्रकाशन, प्रसारण गर्ने वा छाप्ने रेडियो, टेलिभिजन, अनलाइन वा अन्य कुनै किसिमको डिजिटल वा विद्युतीय उपकरण, छापा वा अन्य सञ्चारमाध्यमलाई बन्द, जफत वा दर्ता खारेज वा त्यस्तो सामग्री जफत गरिनेछैन,’ उक्त उपधारामा उल्लेख छ ।

सरस्वतीका अनुसार पत्रकार श्रेष्ठलाई पक्राउ गरेकै वेला दुई ल्यापटप, दुई आइपड र मोबाइल लगेका थिए । बिहीबार फेरि पत्रिकाको कार्यालयमा छापा मारेर ६ कम्प्युटर र टेलिफोन जफत गरेको उनले बताइन् ।

प्रहरीले श्रेष्ठलाई बुधबार राति ११ बजे वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, ०७५ अनुसारको कसुर लगाएर पक्राउ गरेको थियो । त्यसअघि जनआस्था पत्रिका र अनलाइनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरकान्त चौधरी र एक युवतीको विवादित तस्बिर छापिएको थियो । यही विषयमा ती युवतीले श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्माले श्रेष्ठलाई अनुसन्धानका लागि भन्दा पनि कानुनविपरीत सूचनाको स्रोत खोज्न पक्राउ गरिएको बताइन् ।

सम्बन्धित समाचार

ताजा न्यूज