सोम, कार्तिक ३, २०८३
19.1 C
Kathmandu

रवि फर्किएलगत्तै परराष्ट्रमन्त्री खनाल तीनदिने औपचारिक भ्रमणमा भारत जाने

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाने भएका छन् । सभापति लामिछाने र प्रधानमन्त्री मोदीको वार्तामा परराष्ट्रमन्त्री खनालको भ्रमणबारे चर्चा भएको थियो ।

कूटनीतिक स्रोतले परराष्ट्रमन्त्रीको भ्रमण तय भएको पुष्टि गरेको छ । यसअघि बिग क्याट एलाइन्सको कार्यक्रममा सहभागी हुन जाने कार्यक्रम रहे पनि उक्त कार्यक्रम रद्द भएसँगै भ्रमण टरेको थियो ।

सहमहामन्त्री विपिन आचार्यका अनुसार भारतीय प्रधानमन्त्री मोदीले हरेक दुई महिनामा नेपाल र भारतका २०–२५ जना नेताको समूहबिच भेटवार्ता र सघन छलफल गर्ने वातावरण बनाउन प्रस्ताव गरेका थिए । यसलाई सभापति लामिछानेले समर्थन गरेका थिए ।

परराष्ट्रमन्त्रीका रूपमा खनालको यो पहिलो औपचारिक विदेश भ्रमण हुनेछ । यसअघि उनी मौरिससमा आयोजित नवौं हिन्द महासागर सम्मेलनमा सहभागी भएका थिए । त्यस क्रममा उनले भारतीय समकक्षी जयशंकर र अन्य केही नेतासँग भेटवार्ता गरेका थिए । मौरिससमा खनाल र जयशंकरबीच बदलिएको परिवेशमा नेपाल–भारत सम्बन्धलाई अगाडि बढाउने विषयमा छलफल भएको थियो । नेपालको नयाँ सरकारका प्राथमिकताहरूबारे काठमाडौंमा विस्तृत रूपमा छलफल गर्न सहमतिसमेत भएको थियो ।

जयशंकरले नयाँ सरकारसँग संवाद गर्न र प्राथमिकता बुझ्न विदेश सचिव विक्रम मिस्रीलाई काठमाडौं पठाउने प्रस्ताव गरेका थिए । तर प्रधानमन्त्री वालेन्द्र शाहले ‘प्रोटोकल’ कारण देखाउँदै भेट्न अस्वीकार गरेपछि मिस्रीको भ्रमण स्थगित भएको थियो । यहीबीचमा भारत र चीनले नेपाली भूभाग लिपुलेक हुँदै कैलाश–मानसरोवर यात्रा पुनः सुरु गर्ने निर्णय गरेपछि विवाद बल्झिएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज