काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्राथमिकतामा सहयोग गर्न भारत प्रतिबद्ध रहेको बताएका छन् । भारत भ्रमणका क्रममा दिल्लीमा रहेका रास्वपा सभापति रवि लामिछानेसँग बुधबार भएको भेटमा मोदीले भारत सदैव नेपालको साथमा रहेको र नेपालको विकास र आर्थिक प्रगति तथा समृद्धिमा साझेदार बन्न इच्छुक रहेको जनाएका छन् ।
मोदी र लामिछानेबीच एक घण्टाभन्दा बढी चलेको भेटवार्तामा आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा कुराकानी भएको थियो । उनीहरू परिवर्तित राजनीतिक परिस्थितिमा नेपाल–भारत सम्बन्धलाई नयाँ दिशा दिन सहमत भएका छन् । मोदीले २१ फागुनको निर्वाचनमा रास्वपाले हासिल गरेको प्रभावशाली जितको प्रशंसा गरेका थिए ।
रास्वपा सभापति लामिछानेले भारतीय प्रधानमन्त्री मोदीसँग फलदायी वार्ता भएको भन्दै खुसी व्यक्त गरेका छन् । ‘विगतका असहजतालाई बिर्सेर नेपाल र भारतले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात् गर्ने तपाईंको दृष्टिकोणमा म पनि सहमत छु । साझा सभ्यताको सम्बन्ध, डिजिटल करिडोर र अवरोधरहित कनेक्टिभिटीमा केन्द्रित भएर हामी साँच्चिकै प्रगति र आपसी विश्वासमा आधारित साझेदारी निर्माण गर्न सक्छौं,’ लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रास्वपा हाम्रो साझा समृद्धिका लागि यी सम्भावनाहरूलाई नेपाल र भारतका जनताको यथार्थमा परिणत गर्न उत्सुक छ ।’
मोदीसँगको भेटमा लामिछाने पत्नी निकिता पौडेल, रास्वपाका नेताहरू विपिन आचार्य र दीपक बोहोरा तथा दिल्लीस्थित नेपाली दूतावासका कूटनीतिज्ञहरूको उपस्थिति थियो । बैठकमा भारतीय विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विक्रम मिस्रीलगायत उपस्थित थिए ।
