काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको सेयरमा चलेखल गर्न बिचौलिया दीपक भट्टलाई सघाएको नेपाल धितोपत्र बोर्डको जाँचबुझमा देखिएपछि व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गोल्छालाई बिहीबार नक्सालबाट पक्राउ गरेको हो ।
हिमालयन रिइन्स्योरेन्सका तत्कालीन अध्यक्ष गोल्छाले इन्फिनिटी होल्डिङ्सका सञ्चालक भट्टलाई नेपाल रिइन्स्योरेन्सको सेयर मूल्य उचाल्न सहयोगी भूमिका खेलेको बोर्डको जाँचबुझ समितिको निष्कर्ष थियो । भट्ट र सुलभ अग्रवालदम्पतीले ब्रोकर कम्पनी ‘भृकुटी स्टक ब्रोकिङ’सँग मिलेमतो गरी धितोपत्र कसुर गरेको र त्यसमा गोल्छाले सहयोगी भूमिका खेलेको ३ वैशाखमा बुझाएको प्रतिवेदनमा उल्लेख छ । जाँचबुझ समितिले गोल्छासहितका व्यवसायीलाई प्रहरीले थप अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको थियो । सोही आधारमा सिआइबीले उनलाई पक्राउ गरेको हो । गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत हुन् ।
सिआइबीका प्रमुख एआइजी मनोज केसीले गोल्छालाई धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गत कसुरमा पक्राउ गरेको जानकारी दिए ।
धितोपत्र बोर्डको जाँचबुझमा भट्टले सेयर किनबेच गर्न गोल्छासहितका व्यवसायी र कम्पनीलाई भृकुटी ब्रोकिङ कम्पनीमा रकम जम्मा गर्न लगाएको खुलेको छ । भृकुटी ब्रोकिङले भट्टसँग दुई अर्ब ७३ करोड ३३ लाख रुपैयाँ हाराहारी रकम असुल्न बाँकी छ । तर, ब्रोकर कम्पनीले गोल्छालाई ५२ करोड ५० लाख रुपैयाँ तिर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ । भट्टलाई सेयर किनबेच गर्ने प्रयोजनका लागि गोल्छाले हिमालय सेक्युरिटी बैंकरबाट २२ करोड १९ लाख ७१ हजार रुपैयाँ ब्रोकरको खातामा जम्मा गरिदिएको देखिन्छ ।
हिमालय सेक्युरिटी बैंकरमा भट्ट र गोल्छा साझेदार रहेको जाँचबुझमा खुलेको छ । यसमा भट्टको ७ प्रतिशत र गोल्छाको व्यक्तिगत स्वामित्व २.५ प्रतिशत छ । गोल्छा तत्कालीन समयमा अध्यक्ष रहेको हिमालयन रिइन्स्योरेन्सको समेत उक्त कम्पनीमा ७५ प्रतिशत स्वामित्व रहेको सेयर लगतमा खुलेको उल्लेख छ । हिमालयन रिमा भट्टको ४.५ प्रतिशत र गोल्छाको २ प्रतिशत सेयर स्वामित्व छ ।
