काठमाडौं । नेपाल घुम्न आउने पर्यटकको उद्धार गरेको भन्दै ‘फर्जी कागजात’ बनाएर वर्षौँदेखि भइरहेको बिमा रकम ठगीमा सरकारी वकिलको कार्यालय, काठमाडौंले फितलो अभियोजन गरेको छ । ठगीमा ‘मास्टरमाइन्ड’ भूमिकामा देखिएका माउन्टेन हेलिकोप्टर्सका पूर्वमहाप्रबन्धक राजेन्द्रबहादुर सिंहलाई नै उन्मुक्ति दिएर अन्य आरोपीको हकमा पनि सिआइबीको अनुसन्धानमा देखिएका प्रमाण नै हटाई मुद्दा दायर गरेको हो । सिंहलाई जोगाउन श्रममन्त्री राजेन्द्रसिंह भण्डारी नै सक्रिय बनेको स्रोत बताउँछ । सिंह उनका नातेदार हुन् ।
सिआइबीले सिंहसहित ३३ जनाविरुद्ध मुद्दा चलाउन रायसहितको प्रतिवेदन बुझाएकोमा सरकारी वकिलले ३२ विरुद्ध मुद्दा दायर गरेको छ । सिआइबीको एक हजार २४३ पेज लामो अनुसन्धान प्रतिवेदनलाई सात सय ४८ पृष्ठमा घटाउँदा महत्वपूर्ण प्रमाण हटेका छन् । बिमाका नाममा अर्बौँ ठगी भएको र अन्तर्राष्ट्रियस्तरमै देशकै बेइज्जत भएको यो प्रकरणका प्रतिवादीहरूको चलखेलका कारण मुद्दा कमजोर बन्न पुगेको छ ।
सरकारी वकिल कार्यालयले सिआइबीको अनुसन्धान प्रतिवेदन अध्ययनका नाममा एक सातासम्म रोकेर मात्रै जिल्ला अदालतमा अभियोजन दर्ता गरेको हो । जसमा अभियुक्तविरुद्ध एक अर्ब ५१ करोड रुपैयाँ मूल्यबराबरको धनमाल जफत गर्ने भनिएको छ । त्यसमध्ये एक अर्ब १० करोड २९ लाख १० हजार ४०३ नेरु, २९ लाख ९८ हजार आठ सय १८ अमेरिकी डलर र १४ हजार ५ सय युरो छ । उक्त डलर र युरोको नेपाली रुपैयाँ ४० करोड ७० लाख ८९ हजार पाँच सय ९७ रुपैयाँ हुन आउँछ ।
