काठमाडौं । गोरखाको सहिद लखन गाउँपालिका–३ स्थित कन्टारमा गाडी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । मनकामनाबाट दर्शनार्थी बोकेर आबुखैरेनीतर्फ फर्किदै गरेको गाडी गति अनियन्त्रित भई सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
प्रहरीका अनुसार गाडीमा चालकसहित १४ जना सवार थिए । तीमध्ये ७ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ५ जना पुरूष र २ जना महिला छन् ।
मृतकहरू सबै भारतीय नागरिक रहेको बताइएको छ । चालक र सहचालक बाहेक सबै भारतीय नागरिक नै मनकामना मन्दिर दर्शनका लागि गएको र फर्कने बेलामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
बागमती प्रदेश ००६ ख ८४३० नम्बरको गाडीमा भारतीय यात्रुहरू रहेको बताइएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।
