मङ्ल, कार्तिक ११, २०८३
16.1 C
Kathmandu

रवि लामिछाने र कुलमान घिसिङको पार्टी एकता १२ दिनमै भंग

काठमाडौं । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको सहमति १२ दिनमै भंग छ । १४ पुसको पार्टी एकताको सहमति तोडिनुमा दुवैले एकअर्कालाई दोषी भएको आरोप लगाएका छन् । सहमति तोडिएको केही घण्टामै घिसिङ उज्यालो नेपाल पार्टीका अध्यक्ष बनेका छन् । यसअघि अध्यक्ष रहेका अनुपकुमार उपाध्यायलाई संरक्षक बनाइएको छ ।

रास्वपा सभापति रवि लामिछाने र सहमति अनुसार उपसभापति बनाइएका कुलमानबीच शुक्रबार र शनिबार निरन्तर छलफल भएको थियो । दुई दिनको छलफलपछि एकअर्काका कारण एकताबद्ध भएर जान नसकिने भन्दै रास्वपा र उज्यालो नेपाल अलग भएका हुन् ।

भ्रष्टाचार र कुशासनविरुद्ध जेन–जी विद्रोहको मर्मलाई आत्मसात् गर्दै आत्मनिर्भर अर्थतन्त्र, डेलिभरीमा आधारित राजनीति, ‘मेरिटोक्रेसी’ को स्थापना, भ्रष्टाचारप्रति शून्य सहनशीलता र सुशासनप्रति प्रतिबद्ध रहने जनाउँदै उनीहरूबीच सातबुँदे सहमति भएको थियो । सहमतिमा उज्यालो नेपालका नेताहरूले एकतापछि पार्टीका रूपमा रास्वपालाई नै स्वीकार गर्ने, चुनाव चिह्न र झन्डा पनि उसकै हुने उल्लेख थियो ।

सम्झौताविपरीत घिसिङले बारम्बार माग बढाउँदै लैजान थालेपछि एक्लाएक्लै जाने अवस्था आएको रास्वपाको आरोप छ ।

घिसिङले रास्वपाको पक्षबाट एकतर्फी रूपमा सहमति तोडिएको आरोप लगाए ।

कुलमान उज्यालोका अध्यक्ष
रास्वपासँगको एकता भाँडिएसँगै उनेपाले कुलमान घिसिङलाई अध्यक्ष चयन गरेको छ । त्रिपुरेश्वरस्थित उज्यालो घरमा बसेको केन्द्रीय समिति बैठकले घिसिङलाई अध्यक्ष बनाउने निर्णय गरेको हो । उक्त बैठकमा अध्यक्ष अनुप उपाध्यायले व्यक्तिगत कारण देखाएर अध्यक्षबाट राजीनामा दिएका थिए ।

बैठकले लगत्तै कुलमानलाई अध्यक्ष सर्वसम्मत चयन गरेको हो । निर्वाचन आयोगमा अध्यक्ष अनुप उपाध्यायको नाममा पार्टी दर्ता भएको थियो । कुलमान अध्यक्ष बनेसँगै उपाध्याय संरक्षक भएका छन् ।

सम्बन्धित समाचार

ताजा न्यूज