काठमाडौं । नेपाली कांग्रेसले पुस २७ र २८ का लागि तय भएको विशेष महाधिवेशन तत्काल रोक्न अपिल गरेको छ।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बिहीबार सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको नियमित र विशेष महाधिवेशनको मिति तय गर्ने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्रै भएको प्रस्ट पार्दै विशेष महाधिवेशन रोक्न अपिल गरेको हो।
बैठकपछि केन्द्रीय सदस्य नारायणप्रकाश साउदले केन्द्रदेखि वडा कार्यसमितिका पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिसहित सम्पूर्ण नेताकार्यकर्ता पङ्क्तिलाई पुस २७ र २८ गतेका लागि तय भएको विशेष महाधिवेशनमाउपस्थित नहुन अनुरोध गर्ने निर्णय भएको जानकारी दिए।
उनले पदाधिकारीलाई विशेष महाधिवेशन बोलाउने अधिकार विधानले नदिएका कारण तोकिएको उक्त कार्यक्रम रोक्न अनुरोध गरिएको बताए।
बैठकपछि कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले विद्यमान परिस्थितिमा पार्टी एकताको पक्षमा उभिएर नियमित महाधिवेशनलाई सफल बनाउन एकजुट हुनु सबैको साझा जिम्मेवारी रहेको निष्कर्ष बैठकले निकालेको बताए। उनले भने, “नियमित महाधिवेशनले पार्टीका सबै तहमा नेतृत्वको निर्वाचन गर्न नै पर्छ तर हतारोमा गरिने कुनै पनि कामले पार्टीको एकतामा आघात पुग्ने छ। तसर्थ विशेष महाधिवेशन भनी बोलाइएको भेला तत्काल रोक्न अपिल गर्ने निर्णय भएको छ।”
तर, महामन्त्री गगन थापा विशेष महाधिवेशन रोक्ने पक्षमा छैनन् । विशेष महाधिवेशनबाट नीति र नेतृत्व परिवर्तन गर्दै निर्वाचनमा लाने निर्णयमा पुग्नुपर्नेमा विशेष महाधिवेशन पक्षधरको दाबी छ ।
