काठमाडौं । दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षा उत्तीर्ण गरेर बसेका युवा आन्दोलित भएका छन् । भाषा परीक्षा पास गरेको मिति सकिन लाग्दासमेत रोजगारीका लागि कोरिया जान नपाएपछि युवाहरूले इपिएस शाखा कार्यालयमा बुधबार धर्ना दिएका हुन् ।
भाषा परीक्षा उत्तीर्ण गरेर कोरियाको रोजगारी सपना बुनिरहेका युवाको संख्या करिब १५ हजार छ । त्यसमध्ये करिब तीन हजार युवाको भाषा परीक्षा पास गरेको म्याद सकिन दुई महिना मात्रै बाँकी रहको कार्यालयले जनाएको छ । कृषि समूहतर्फ फर्म भरेका अधिकांश युवाको आगामी मार्चमा भाषा परीक्षा उत्तीर्ण गरेको म्याद सकिन लागेको हो ।
कोरियाले कृषि, उत्पादन र पानीजहाज तीन क्षेत्रमा नेपाली युवालाई रोजगारीका लागि अवसर दिने गरेको छ । त्यस्तै, एकपटक कोरियाको रोजगारी गरेर फर्केका युवालाई पनि अवसर दिने गरेको छ । अहिले भाषा परीक्षा उत्तीर्ण गरेर बसेका करिब १५ हजारमध्ये उत्पादनतर्फ आठ हजार युवा छन् । त्यस्तै, कृषितर्फ तीन हजार, पानी जहाजतर्फ दुई हजार र पुन: कोरिया जानका लागि करिब दुई हजार युवा लाइनमा रहेको कार्यालयले जनाएको छ ।
दुवै देशको सरकारीस्तरमा श्रमसम्झौता भएकाले कोरियाको रोजगारी सबैभन्दा सुरक्षित मानिने गरेको छ । त्यस्तै, एकपटक कोरिया गएपछि पाँच वर्षसम्म रोजगारी गर्न पाउने सुविधाले पनि युवाहरू आकर्षित छन् ।
यो वर्ष कोरियाले नेपालबाट ५३ सय युवालाई इपिएस प्रणालीबाट रोजगारीमा लैजाने कोटा निर्धारण गरेको थियो । इपिएस शाखा कार्यालयले दसैँअगाडि लिएको पहिलो चरणको परीक्षामा एक लाख तीन हजार युवा सामेल भएका थिए । दोस्रो चरणको परीक्षा आगामी २१ पुसलाई तोकिएको छ । कोरियाले उत्पादन ३५ सय र कृषि १८ तर्फ युवा लैजाने गरी कोटा निर्धारण गरेको छ ।
