मङ्ल, अशोज ६, २०८३
28.1 C
Kathmandu

सोलुखुम्बुका शेर्पा न्यूयोर्कको मेयरको टिममा, नेपाली समुदाय हर्षले गदगद्

न्यूयोर्क । अध्ययन र रोजगारीको क्रममा नेपालीहरू विश्वका विभिन्न मुलुकमा पुगेका छन् । जुनसुकै देशमा पुगेर पनि नेपालीहरूले आफ्नो क्षमता देखाइरहेका छन् ।

विश्वकै शक्तिशाली देश अमेरिका, त्यसमाथि अमेरिकाकै मुटु विशाल महानगर न्यूयोर्कका मेयर जोहरान ममदानीको ट्रान्जिसन टिममा सोलुखुम्बुस्थित सोलुदुधकुण्ड नगरपालिका–३ मा पर्ने लोदिङ गाउँका उर्गेन शेर्पा पर्नुभएको छ ।

मेयर ममदानीले समुदाय केन्द्रित कामका लागि शेर्पालाई चयन गर्नुभएको हो । उहाँ शेर्पा किदुग अमेरिकाको पूर्वअध्यक्षसमेत हुनुहुन्छ । शेर्पा हाल छायाँ कम्युनिटी डेभलपमेन्ट कर्पोरेसनमा स्मल बिजनेस म्यानेजरको रूपमा पनि कार्यरत हुनुहुन्छ ।

शेर्पा लामो समयदेखि समुदाय केन्द्रित काममा सक्रिय रहँदै आउनुभएको न्यूयोर्कबाट रामेछाप काठमाडौं पत्रकार समाजका सदस्य सोनाम गेल्बु शेर्पाले बताउनुभयो । ‘न्यूयोर्कको मेयरको टिम रहेर काम गर्न पाउनु ऐतिहासिक हो । उहाँको नियुक्तिलाई न्यूयोर्कमा बस्ने शेर्पासहित नेपाली समुदायले गौरवको रुपमा लिएको छ ।’ उहाँले भन्नुभयो ।

न्यूयोर्कका मेयरको टिममा शेर्पा परेसँगै नेपाली समुदाय हर्षले गदगद् भएका छन् । न्यूयोर्कमा रहेका नेपालीहरूको समस्या समाधानमा उहाँको भूमिका थप सशक्त हुने विश्वास गरिएको छ ।

महामारीपछिको न्यूयोर्कमा साना उद्यमीहरूलाई पुनःउठाउन, सरकारी अनुदान तथा कागजी प्रक्रिया सहज बनाउन तथा आप्रवासी व्यवसायीमाथि पर्ने प्रशासनिक चुनौतीहरू कम गर्न शेर्पाले महत्वपूर्ण भूमिका खेल्दै आउनुभएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज