काठमाडौं । नेकपा एमाले ११ औं राष्ट्रिय महाधिवेशनमा नेतृत्वको तँछाडमछाड भइरहेका बेला पोलिटब्युरो सदस्य दलबहादुर रानाले सक्रिय राजनीतिबाट बिदा लिएका छन्। उनले शुक्रबार बिहानै सामाजिक सञ्जालमार्फत् विश्राम लिने घोषणा गरेका हुन्।
उनले आगामी महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने र राजनीतिबाट बिदा हुने बताएका हुन्। ‘हाल मेरो पारिवारिक समस्याको प्रमुख कारणले गर्दा पार्टीको जिम्मेवारीमा रहेर सक्रियतापूर्वक काम गर्न सक्ने अबस्था नभएकोले भोली २०८२साल मंसिर २७–२९ सम्म काठमाडौंमा हुने यो ऐतिहासिक एघारौं राष्ट्रिय महाधिवेशनदेखि पार्टीको सक्रिय राजनीतिक यात्राबाट विश्राम लिने निर्णयमा पुगेको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छु। सक्रिय राजनीतिक जीवनबाट बिदा लिए पनि पार्टी सदस्यको हैसियतबाट समय अनुकूलतामा आफुले आजसम्म प्राप्त गरेको अनुभवको आधारमा देश ,जनता र पार्टीको हितमा क्रियाशील रहने प्रतिबद्धता समेत ब्यक्त गर्दछु,’ उनले भनेका छन्।
राना २०३५/२०३६ सालदेखि कम्युनिस्ट पार्टीको शुभचिन्तक तत्कालीन नेकपा मालेको सम्पर्कमा आएका थिए। त्यसपछि युथ कम्युनिस्ट लिगमा संगठित भएर काम गर्न थालेका हुन्।
एमालेको आठौं राष्ट्रिय महाधिवेशनदेखि केन्द्रीय कमिटीको सदस्य तथा लुम्बिनी प्रदेश कमिटी सह–इन्चार्ज र नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य तथा पोलिटब्युरो सदस्य भएका थिए।
दुईपटक प्रतिनिधि सभा (२०५१ र २०७४) सदस्य र एकपटक संविधान सभा (२०७०) सदस्य गरी तीनै पटक उनी पाल्पाबाट सांसद निर्वाचित भएका थिए। पछिल्लो पटक भने उनी सांसद थिएनन्।
छोटो अवधिका लागि उनी २०७० सालमा भूमि सुधार तथा व्यवस्था मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।
दलबहादुर रानाले फेसबुकमा लेखेका छन्–
जिम्मेवारीबाट मुक्त हुने
आदरणीय नेता गण,सहकर्मी साथीहरु,कार्यकर्ता,समर्थक तथा शुभचिन्तक मित्रहरु,
म२०३५/२०३६ साल देखि कम्युनिष्ट पार्टीको शुभचिन्तक,समर्थक हुँदै तत्कालिन नेकपा मालेको सम्पर्कमा आएपछि युथ कम्युनिष्ट लिगमा संगठित भएर औपचारिक रुपमा कम्युनिष्ट राजनीतिमा आबद्ध भई विभिन्न आरोह अबरोहहरु पार गर्दै क्रियाशील रहने क्रममा जिल्ला मातहतका विभिन्न तहको पार्टी कमिटीमा संगठित भएर जिम्मेवारी बहन गर्दै गएँ। राजनीतिको सुरुवाती चरणमा पेशागत संगठन तत्कालिन पारामेडिकल एशोसियशन(स्वास्थ्य कर्मी संघ)को पाल्पा जिल्ला नेतृत्व र जातीय सामुदायिक संगठन तत्कालिन लाङ्घाली परिवार (नेपाल मगर संघ)को पाल्पा जिल्ला सचिबको जिम्मेवारी पनि सम्हाल्ने काम गरें। जिम्मेवारी थपिंदै जाने क्रममा भूमिगत कालमा दुई बर्ष जति गुल्मी जिल्ला कमिटी प्रमुख, दुईपटक पाल्पा जिल्ला कमिटी सचिब, तत्कालिन लुम्बिनी अञ्चल समन्वय कमिटीको सदस्य तथा सह-ईन्चार्ज हुँदै बुटवलमा भएको नेकपा एमालेको आठौँ राष्ट्रिय महाधिबेशन देखि केन्द्रिय कमिटीको सदस्य तथा लुम्बिनी प्रदेश कमिटी सह-ईन्चार्ज र नवौं राष्ट्रिय महाधिबेशनबाट केन्द्रिय सदस्य तथा पोलिटब्युरो सदस्य हुँदै एघारौँ राष्ट्रिय महाधिबेशनामा आईपुग्दा हाल पोलिटब्युरो सदस्य तथा भूमिब्यबस्था बिभाग ईञ्चार्जको रुपमा जिम्मेवारी बहन गरिरहेको छु। पार्टी कामको जिम्मेवारी पुरा गर्ने सिलसिलामा पाल्पा, गुल्मीको साथै नवलपरासी,प्युठान र रुपन्देही जिल्लामा समेत केही समय काम गर्ने अवसर प्राप्त भयो। सोही क्रममा नेकपा एमाले द्वारा २०६३ सालमा गठित जातीय सामुदायिक संगठन नेपाल लोकतान्त्रिक आदिबासी जनजाती महासंघको संस्थापक केन्द्रिय महासचिब तथा नेपाल लोकतान्त्रिक मगर संघको संस्थापक केन्द्रिय अध्यक्षको भूमिकामा रहेर पनि काम गरें।
मैले पार्टीको चौथो राष्ट्रिय महाधिबेशन देखी एघारौँ राष्ट्रिय महाधिबेशन सम्म लगातार महाधिबेशन प्रतिनिधीको रुपमा भाग लिने अवसर पनि प्राप्त गरेको छु। नेता, कार्यकर्ता, मतदाता, समर्थक, शुभचिन्तकहरुको साथ र सहयोगमा जनप्रतिनिधीको रुपमा एकपटक वार्ड अध्यक्ष भएँ, दुईपटक प्रतिनिधीसभा सदस्य र एकपटक संबिधानसभा सदस्य गरी तिनै पटक प्रत्यक्ष निर्बाचनबाट निर्बाचित भएँ। छोटो अवधीको लागि भएपनि एकपटक भूमिसुधार तथा ब्यबस्था मन्त्रीको जिम्मेवारी निर्बाह गर्ने अवसर पनि पाएँ। हाल मेरो पारिवारिक समस्याको प्रमुख कारणले गर्दा पार्टीको जिम्मेवारीमा रहेर सक्रीयता पूर्बक काम गर्न सक्ने अबस्था नभएकोले भोली २०८२साल मङ्सिर २७-२९ सम्म काठमाण्डौमा हुने यो ऐतिहासिक एघारौँ राष्ट्रिय महाधिबेशन देखि पार्टीको सक्रिय राजनीतिक यात्राबाट बिश्राम लिने निर्णयमा पुगेको व्यहोरा सबैमा जानकारी गराउन चाहन्छु। सक्रिय राजनीतिक जिबनबाट बिदा लिए पनि पार्टी सदस्यको हैसियतबाट समय अनुकूलतामा आफुले आजसम्म प्राप्त गरेको अनुभवको आधारमा देश,जनता र पार्टीको हितमा क्रियाशील रहने प्रतिबद्धता समेत ब्यक्त गर्दछु।
मेरो लगभग ४५ बर्षको सक्रिय राजनीतिक यात्रामा मैले स्मरण गर्न सके सम्म कुनै कार्यकर्ताहरु माथि पुर्बाग्रह पूर्ण, दुरासय पूर्ण र अन्याय पूर्ण ब्यबहार गरेको छैन भन्ने कुरामा म विस्वस्त छु। तथापि पार्टीको हितमा निर्णय लिनु पर्दा, कमिटी निर्णय पालन गर्ने गराउने क्रममा, कतिपय बेला प्राथमिकता निर्धारण गरेर निर्णय लिनु पर्ने अबस्था र निर्णयमा पुग्नुका सबै बिबरण पार्टी गोपनियताको कारणले जानकारी गराउन नमिलेको अबस्थाले कसै माथि अन्याय भएको अनुभूत भएको छ भने म व्यक्तिगत रुपमा क्षेमा प्रार्थी छु।
मलाई पार्टी र जनप्रतिनिधीको यो भूमिका सम्म पुर्याउन योगदान गर्नु हुने सम्पुर्ण नेता,सहकर्मी साथीहरु,आम कार्यकर्ता,मतदाता,समर्थक तथा शुभचिन्तक मित्रहरुमा हार्दिक आभार तथा कृतज्ञता ज्ञापन गर्दछु। अन्तमा यो एघारौँ महाधिबेशन, नेकपा एमालेलाई बर्तमान देशको जटिल राजनीतिक परिस्थितिको सामना गर्न सक्ने निर्णायक राष्ट्रिय शक्तिको रुपमा पुन स्थापित गर्न, सक्षम नेतृत्व निर्माण गर्दै ऐतिहासिक र भब्य रुपमा सफल रहोस्, यही हार्दिक शुभकामना ब्यक्त गर्दछु।
दल बहादुर राना, नेकपा एमाले पोलिटब्युरो सदस्य
ठेगाना- रामपुर नगरपालिका वडा नं १ पाल्पा,
हाल- बुढानिलकण्ठ नपा १० कपन बिबेक चोक काठमाण्डौ
