बिहि, अशोज ८, २०८३
19.1 C
Kathmandu

एमालेको भावी अध्यक्षमा केपी र ईश्वर दावेदार, महासचिवमा को–को छन्  चर्चामा ?

काठमाडौं । एमालेको ११औँ महाधिवेशनमा अध्यक्षमा केपी ओली र ईश्वर पोखरेलबिच भिडन्त हुने तय भएको छ । दुबैले छलफललाई तिब्र बनाएका छन् ।

अध्यक्षपछिको शक्तिशाली कार्यकारी पद महासचिवमा पनि नेताहरूको ध्यान गएको छ । केपी ओली र विद्या भण्डारी–ईश्वर पोखरेल दुवै समूहमा तीन–तीनजना पदाधिकारी तहका नेता महासचिवको चर्चामा छन् ।

ओली पक्षबाट वर्तमान महासचिव शंकर पोखरेल तथा उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ तथा विद्या–ईश्वर समूहबाट उपाध्यक्ष सुरेन्द्र पाण्डे तथा सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराई महासचिवका सम्भावित उम्मेदवार छन् । संस्थापनभित्रै पनि पाण्डेलाई आफ्नो समूहमा ल्याएर महासचिव बनाउने प्रयास केही नेताले गरेका छन् ।

अध्यक्षपछि दोस्रो महत्वपूर्ण कार्यकारी पद भएकाले महासचिवमा प्रभावशाली नेताहरू नै सक्रिय तयारीमा छन् । महाधिवेशन प्रतिनिधि दुई हजारभन्दा बढी चयन भइसकेकाले दुवै समूह सम्भावित समीकरण र अंकगणित मिलाउन व्यस्त छन् । तर, विधान संशोधनसहित नेता व्यवस्थापनका विकल्पमा पनि ओली लागिरहेका कारण अन्तिम प्यानल कस्तो बन्ने भन्ने स्पष्ट भइसकेको छैन ।

ओलीमाथि राजनीतिक हिंसाको आरोप
एमालेका नेतृहरूले पार्टी अध्यक्ष केपी ओलीले ‘राजनीतिक हिंसा’ गरेको आरोप लगाएका छन् । पार्टीको ११औँ महाधिवेशन तयारीका सन्दर्भमा मंगलबार आयोजित साक्षात्कार कार्यक्रममा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, स्थायी समिति सदस्य विन्दा पाण्डेलगायतले यस्तो आरोप लगाएका हुन् ।

पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टी सदस्यता मागेको विषयमा बोल्दै ओलीले उनीमाथि प्रश्न उठाएर राजनीतिक हिंसा गरेको उपाध्यक्ष शाक्यले टिप्पणी गरिन् । केही दिनअघि एक अन्तर्वार्तामा ओलीले भण्डारीलाई लक्षित गर्दै दिएको अभिव्यक्तिबारे उनले भनिन्, ‘पूर्वराष्ट्रपतिलाई धामीझाँक्री भनेको के हो ? यसरी अपमान गर्न पाइन्छ ? सामान्य मान्छेलाई त पाइँदैन ।’ यसबाहेक शाक्यले थप प्रश्न गरिन्, ‘केपी ओली आमाको कोखबाट जन्मेको होइन ? उनको अभिव्यक्तिले सबै महिलाको अपमान गरेको छ । महिलाको अपमान गर्ने नेतृत्व आवश्यक छैन ।’

सम्बन्धित समाचार

ताजा न्यूज