शुक्र, कार्तिक १४, २०८३
18.1 C
Kathmandu

पत्नीशोकमा वरिष्ठ साहित्यकार विवश पोखरेलले लेखे मर्मस्पर्शी स्ट्याटस

वरिष्ठ साहित्यकार विवश पोखरेलले स्व. पत्नीको स्मृतिमा मर्मस्पर्शी स्ट्याटस लेखेका छन् । पत्नी उमादेवी पोखरेल दिवंगत भएको १२औँ दिनमा साहित्यकार पोखरेलले फेसबुकमा स्ट्याटस लेख्दै अतीत स्मरण गरेका हुन् ।

भारतको राजीव गान्धी अस्पतालमा उपचार गराएर विराटनगर ल्याएको केही समयमा उमादेवीको मृत्यु भएको थियो । पोखरेलका एक छोरा र एक छोरी छन् ।

यस्तो छ वरिष्ठ साहित्यकार विवश पोखरेलले लेखेको फेसबुक स्ट्याटस–
आज तिमी गएको बाहौं दिन । सबै संस्कार र औपचारिकता सक्यौं । यतिका दिनसम्म तिमीलाई सम्बोधन गर्ने मसँग कुनै शब्दहरू रहेनन् । मात्र याद रह्यो । पल पल
सम्झिरहें, अँध्यारो जीवनबाट उज्यालो जीवनसम्म ल्याउने तिम्रो साथ, दुःखमा संकटमा पनि हौसला, प्रेरणा दिने तिम्रो स्वभाव र प्रेम । अब ती सबै एउटा अतीत भए ।
निःशब्द छु । निदाउन खोज्दा शालीन सौम्य र सरल अनुहार आउँछ । बाँच्ने तिम्रो चाहना हाम्रो कोसिस आउँछ । शुभेच्छुकहरूको हामीप्रतिको प्रेम शुभेच्छा, सद्भाव, सहयोग र स्वास्थ्यस्थितिको जिज्ञासा आउँछ । लागेको थियो, तिमीले यो रोगलाई जित्छौ, हामी तिमीलाई निको पारेर ल्याउँछौ । तर हाम्रा हरेक कोसिसहरू असफल रहे ।
अन्ततः हामी हा¥यौं । सम्झिंदा छाती दुख्छ । आँखा रसाउँछ । निदाउन खोज्दा मन भक्कानिन्छ । झ्याल खोल्छु र थचक्क बस्छु । यसरी हाम्रो सम्बन्ध र जीवनको चंगा उड्दाउड्दै टुट्छ र हामी सबैको खुसी भगवानले निर्मम भएर खोस्छ्न् भन्ने र हामीलाई यति चाँडै यसरी तिमीले छाडेर जान्छौ भन्ने कल्पनासम्म थिएन ।
धेरै माया गर्ने छोराछोरी नातिनातिना छोडेर गएकी छौ । मेरो चिन्ता नलिनू, तिम्रा यादसँगै कुनै समयसम्म बाँच्ने छु । सायद मेरो प्रारब्धमा यही थियो ।
हामीले धेरै शुभेच्छुक र प्रियजन कमाएका रहेछौँ, तिम्रो असामयिक निधन र यो दुःखको समयमा तिमीलाई माया गर्ने धेरै प्रियजनहरू र संघ संस्थाहरूले तिम्रो अभाव हुनूको अनुभूतिसँगै तिमीप्रति श्रद्धासुमन अर्पण गर्नुभएको छ । शोकमा परेका हामी सबै परिवारमा ईश्वरले धैर्य र सहनशक्ति प्रदान गरून् भन्ने शुभेच्छा, समवेदना अर्पण गर्नुभएको छ । हामी र तिम्रो तर्फबाट पनि उहाँहरूप्रति आभार र कृतज्ञता व्यक्त गर्दछु ।
अबदेखि हाम्रो प्रेममन्दिर रित्तो र शून्य भएको छ । हामी टुहुरा र सहाराहीन भएका छौं । तिमी जे थियौ, हाम्रो सबथोक थियौ अल विदा प्रिय मान्छे । तिमी जहाँ रहनू, खुसी र सुखी रहनू । अश्रूपूर्ण श्रद्धाञ्जली !

सम्बन्धित समाचार

ताजा न्यूज