शुक्र, कार्तिक १४, २०८३
16.1 C
Kathmandu

धनगढीको नोभा अस्पतालमा १७ वर्षीय युवकको मृत्यु ,स्थिति तनावग्रस्त

काठमाडौं । धनगढीको नोभा अस्पतालमा १७ वर्षीय युवकको मृत्यु भएको छ ।

अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित आफन्तले ढुंगामुढा प्रहार गर्दै तोडफोड गर्न खोजेका छन् । सामान्य अवस्थामा ल्याइएका कञ्चनपुर बेलौरीका १७ वर्षका नसिब चौधरीको मृत्यु भएको हो ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन तीन राउण्ड अश्रुग्यास प्रहार गरेको छ । अस्पताल बाहिर भेला भएको समूहले ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अश्रुग्यास प्रहार गरेपछि अहिले उनीहरु तितरबितर भएका छन् भने अस्पतालले मृतकका आफन्तसँग वार्ता गरिरहेको छ । जन्डिसको समस्या लिएर ७ साउनमा अस्पताल भर्ना भएका चौधरीको शुक्रबार दिउँसो ३ बजे मृत्यु भएको थियो ।

शुक्रबार अवस्था जटिल बनेपछि मात्र अस्पतालले नेपालगञ्ज वा भारतको बरेली लैजान भनेको मृतकका आफन्तले बताए । दिउँसो साढे ३ बजे नेपालगञ्ज लैजान एम्बुलेन्समा राख्ने क्रममा चौधरीको मृत्यु भएको थियो ।
आफन्तले अस्पतालको लापरवाहीका कारण उनको मृत्यु भएको भन्दै शव बुझ्न मानेका छैनन् भने डाक्टरलाई कारवाही र क्षतिपूर्तिको माग गरेका छन् ।
अस्पताल प्रशासनले शुक्रबार साँझदेखि मृतकका आफन्तसँग वार्ता गरेपनि कुरा मिल्न सकेको छैन ।

सम्बन्धित समाचार

ताजा न्यूज