काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाको पेशी तोकिएको छ । जिल्ला अदालत काठमाडौंले सङ्गठित अपराधमा अनुसन्धानका लागि म्याद थप गरेर थुनामा राखिएका झाको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा पेशी तोकिएको हो ।
ढुङ्गानाको एकल इजलासमा दोस्रो नम्बरमा पेशी तोकीएको हो । झाका तर्फबाट उनका छोराले दर्ता गराएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा दुई पटकसम्म पेशी तोकिए पनि झा पक्षले निवेदन दिएर सारीएको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोस्रो चरणमा पूरक अभियोग पत्र दायर गर्न जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानकै क्रममा झाको बयान सकियो । उनका छोरा दिब्यान्सु शेखर झाले २०८१ असार ३० गते बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए । प्रहरीले उनको बयानमा आधारमा तानिन सक्ने व्यक्तिहरूको बारेमा अनुसन्धान अघि बढेको बताएको छ।
यस प्रकरणमा पूर्वमन्त्रीहरू बालकृष्ण खाँण, टोपबहादुर रायमाझी, निलम्बित सचिव टेकनारायण पाण्डे लगायतलाई विपक्षी बनाइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित झा असार १४ गते पक्राउ परेका थिए ।
