शनि, कार्तिक १५, २०८३
16.1 C
Kathmandu

प्रधानमन्त्रीले विषयान्तर गरेको भन्दै माओवादीको आपत्ति, जथाभावी नबोल्न प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । प्रधानमन्त्री ओलीले डेडिकेटेड र ट्रंक लाइनको विवादलाई लिएर आफूमाथि अनावश्यक लान्छना लगाइएको भन्दै प्रतिवाद गरेका छन् ।

सबैभन्दा पहिले कांग्रेसका धनराज गुरुङले प्रश्न सोधेका थिए, जुन आर्थिक त्रिभूज परियोजनासँग सम्बन्धित थियो । शून्य समयमा माओवादीका सांसद लेखनाथले उठाएको विषयमाथि टिप्पणी गर्न थाले । दाहालले ट्रंक लाइनसम्बन्धी विवादमा सरकारले २२ अर्ब रूपैयाँ उद्योगीलाई छुट दिन खोजेको भन्दै आक्रोश व्यक्त गरेका थिए । उनले हिजो रोष्टममा बोल्दै प्रधानन्त्रीले विचौलियाको भाषामा सफेद झुट बोलेको आरोपसमेत लगाए ।।

शून्य समयपछि प्रश्नोत्तरका लागि रोष्टममा पुगेका प्रधानमन्त्री ओलीले संसदमा भएको कुरा गर्न र जथाभावी नबोल्न आग्रह गरे ।

डेडिकेटेड र ट्रंक लाइनको विवादमा आफूले विद्युत महसुल तिर्नु पर्दैन भनेर नभनेको बताए । ‘विवाद टुंग्याउनुपर्छ, सरकारले पाउनुपर्ने रकम असुल गर्नुपर्छ’ उनले भने, ‘जुन विद्युत उपभोग गरेका छन्, त्यसको तिर्नुपर्छ । जुन प्रयोग गरेका छैनन्, त्यो तिर्न पर्दैन । मैले भनेको त्यो हो ।’

६० वर्ष लामो राजनीतिक जीवनमा कुनै दाग नलागेको र बाँकी जीवन पनि त्यसलाई कायम राख्ने उनले बताए । हिजो पनि आफूले यही मत राखेको भन्दै उनले भने, ‘हिजो हुनुहुन्थ्यो भने रेकर्ड सुनेर कन्फर्म भएर कुरा गर्नु बान्छनीय हुन्छ । हामी गरिमामय संसदमा छौं ।’

‘कहिले सुन होइन पित्तल चढायो भनेको छ । कहिले अनेक प्रकारको फोटाहरु छपाएको छ । यो खालको तरिका माननीयको हैसियतमा शोभनीय हुँदैन,’ उनले अगाडि भने, ‘भ्रष्टाचारका विरुद्ध कुरा बोलौं, भ्रष्टाचार छोप्नका लागि अरुमाथि भ्रष्टाचारका लान्छना लगाउने काम नगरौं । म माननीयज्यूहरुलाई भन्न चाहन्छु ।’

आफू प्रधानमन्त्री बनेको कसैलाई चित्त नबुझेको हुनसक्ने उनले बताए । ‘कसैलाई मर्का पनि परेको हुनसक्छ, यो त दलिय व्यवस्था हो,’ माओवादीतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले भने, ‘राजनीतिक प्रश्नहरु राजनीतिक हिसाबले अगाडि बढाउनुपर्छ ।’

संसदमा गालमुखाल गर्न नआएको भन्दै उनले संसदलाई हल्काफुल्का नबनाउन आग्रह गरे । उनले अगाडि भने, ‘सभामुख महोदय, हावादारी कुरा संसदमा नबोलियोस् ।’

सम्बन्धित समाचार

ताजा न्यूज