आइत, अशोज ४, २०८३
29.1 C
Kathmandu

कांग्रेस एमालेलाई कसले मिलाएको हो, किन मिलाएको हो, घामजत्ति नै छर्लङ्ग छ- प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेस र नेकपा एमालेको सहकार्य आफैँ नबनेको दाबी गरेका छन्।

प्रतिनिधि सभामा शुक्रवार विश्वासको मत माग्दै उनले प्रधानमन्त्रीका रूपमा आफूले लोकतन्त्रको सर्भिसिङ् सुरु गरेको जिकिर गरे।

‘नेपाली जनताले राम्ररी बुझेको छ, खासमा तपाईहरू सरकारसँग डराएर यो ठाउँमा पुग्नुभएको हो। प्रधानमन्त्रीका रूपमा मैले लोकतन्त्रको सर्भिसिङ् सुरु गरेँ, लोकतन्त्रको गोडमेल सुरू गरेँ। कसैका प्रोफाइल हेरिनँ, विधिको शासन सुरू गरेँ। राज्यको खुला दोहन र शोषण गरिरहेको समूहसँग जुधेँ,’ उनले भने, ‘कांग्रेस एमालेका सीमित नेताको दाबी होला, हामी आफैँ मिलेका हौँ। त्यो सत्य होइन। तपाईंहरूलाई कसले मिलाएको हो, किन मिलाएको हो, घामजत्ति नै छर्लङ्ग छ।’

आफूले विधिको शासन सुरू गरेको जिकिर गर्दै उनले कांग्रेस—एमाले मिलेको भन्न लाज लागेर राष्ट्रिय सहमतिको सरकारको बर्को ओढिरहेको अरोप लगाए।

‘सिधै कांग्रेस एमाले मिलेको भन्न लाज लागेर साथीहरूले राष्ट्रिय सहमतिको सरकारको बर्को ओढिरहनुभएको छ। साथीहरू, राष्ट्रिय सहमतिको पहलकदमी दिनकै उज्यालोमा जनताको खुला जानकारीमा पनि लिन सकिन्थ्यो। नियत सही हुन्थ्यो भने राष्ट्रिय सहमतिको विमर्श यही सम्मानित संसदमा सुरू गर्न सकिन्थ्यो,’ उनले भने, ‘तपाईंहरू विमर्श होइन, षड्यन्त्रमा हुनुहुन्छ भन्ने तथ्य तपाईंहरूले सहमति गरेको ठाउँ र समयबाट पुष्टि हुन्छ। स्वाभाविक र विवेकसम्मत काम गर्दा त्यो तहको डर हुँदैन। आज जुन समूहहरूले तपाईंहरूलाई जोडेका छन्, तिनीहरूको सेवा नै तपाईहरूको कर्तव्य भएपछि लोकतन्त्रको प्रतिष्ठा र जनसमर्थन अझ गिर्नेछ भन्ने मेरो ठूलो चिन्ता छ।’

सम्बन्धित समाचार

ताजा न्यूज