काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएर गरेका राम्रा कामको सूची बनाउन सक्ने स्थिति नरहेको बताएका छन् ।
संसद भवन बाहिर सोमबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
‘केपी ओलीज्यूलाई दुई वटा अवसर प्राप्त भएको छ । दुई तिहाइको प्रधानमन्त्री हुनुभयो, त्योभन्दा अघि पनि प्रधानमन्त्री हुनुभयो । प्रधानमन्त्री भएर देशले के प्राप्त गर्यो भनेर उहाँले गरेका राम्रा कामको सूची बनाउनसक्ने स्थिति छैन’, उनले भने, ‘उहाँ जीवनको र राजनीतिको पनि उत्तरार्द्धमा हुनुहुन्छ । परिस्थितिले उहाँले फेरि नेतृत्व गर्ने अवसर प्राप्त गर्नुभएको छ । झन्डै दुई तिहाइले समर्थन गरेको प्रधानमन्त्री उहाँ हुँदै हुनुहुन्छ । म के आग्रह गर्न चाहन्छु भने यो पटक प्रधानमन्त्री हुँदा देशको लागि हुनुस्, जनताका लागि हुनुस् । गुटको लागि नहुनुस् । पछिल्लो पटक प्रधानमन्त्री हुँदा यो यो गर्नुभयो भनेर भन्ने सक्ने, थाहा पाउने गरी नेतृत्व गर्नुस् ।’
सांसद पौडेलले कसैलाई सम्मान नगर्ने, संयोजन गर्न नसक्ने मान्छे भन्दै लाग्ने गरेको आरोपलाई मिथ्या सावित गर्नेगरी काम गर्न ओलीलाई आग्रह गरे ।
