बिहि, कार्तिक ६, २०८३
15.1 C
Kathmandu

वेस्ट इन्डिजसँग पराजित भएसँगै नेपाल टी २० विश्वकपबाट बाहिरियो

काठमाडौं । नेपाललाई नौ विकेटले हराउँदै दुईपटकको च्याम्पियन वेस्ट इन्डिज आइसिसी टी–२० विश्वकप २०२६ को सुपर ८ मा प्रवेश गरेको छ। तेस्रो खेलमा पराजित भएपछि नेपालको भने सुपर एटमा पुग्ने सम्भावना सकियो।

आइतबार वानखेडे रंगशालमा नेपालले टस हारेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३४ रनको लक्ष्य दिएको थियो। अलराउन्डर दीपेन्द्रसिंह ऐरीले धैर्यपूर्ण ब्याटिङ गर्दै अर्धशतक बनाएपछि नेपालले सम्मानजनक प्रदर्शन गरेको थियो। प्रत्युत्तरमा वेस्ट इन्डिजले १५.३ ओभरमा एक विकेट गुमाउँदै जित निकालेको हो। नेपालविरुद्ध चार विकेट लिएका तीव्रगतिका बलर ज्यासन होल्डर नै प्लेयर अफ दी म्याच घोषित भए।

समूह ‘सी’मा वेस्ट इन्डिज लगातार तेस्रो जित निकाल्न सफल भयो। यसअघि वेस्ट इन्डिजले स्कटल्यान्डलाई ३५ रन तथा इंग्ल्यान्डलाई ३० रनले पराजित गरेको थियो। लगातार तीन जितपछि ६ अंक बटुलेको वेस्ट इन्डिज शीर्ष स्थानमा छ। नेपाल भने लगातार तेस्रो खेलमा पराजित हुँदै सुपर ८ बाट बाहिरियो। अब, नेपालले मंगलबार स्कटल्यान्डसँग अन्तिम खेल खेल्नेछ। वेस्ट इन्डिजले भने समूहको अन्तिम खेल इटालीसँग खेल्ने तालिका छ। समूहमा दोस्रो टोलीको रूपमा सुपर एटमा पुग्न इंग्ल्यान्ड, स्कटल्यान्ड र इटालीमध्ये तीनै टोलीको सम्भावना उस्तै छ।

वेस्ट इन्डिजको जितमा कप्तान साई होप र सिमरन हेटमायरले ९१ रनको अविजित साझेदारी गरे। होपले ४४ बलमा सर्वाधिक ६१ रन बनाए। उनले पाँच चौका र तीन छक्का हिर्काए। हेटमायरले ३२ बलमा चार चौका र दुई छक्कासहित ४६ रन बनाएका हुन्। यसअघि ओपनर ब्रान्डन किंगले १७ बलमा २२ रन बनाएका थिए। उनले चार चौका प्रहार गरेका थिए।

नेपालका लागि एक मात्रै विकेट नन्दन यादवले लिए।

यसअघि विश्वकपमा पहिलोपटक खेलेको वेस्ट इन्डिजसँग नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५८ रन बनाएका थिए। उनले ४७ बलमा समान तीन चौका र छक्का हिर्काएका थिए। तेस्रो विकेट लिएका ज्यासन होल्डरले रभमन पावेलबाट दीपेन्द्रलाई छक्का प्रहार गर्न खोज्दा क्याचआउट गराएका थिए।

पहिलो इनिङ्समा नेपालले १४.६ ओभरमा ७३ रन बनाउँदा ६ विकेट गुमाएको थियो। यसपछि दीपेन्द्रले सोमपाल कामीसँग बलियो साझेदारी गरेका हुन्। मध्यक्रममा उपकप्तान दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीबिच २६ बलमा ५४ रनको साझेदारी भएपछि नेपालले सम्मानजनक स्कोर बनाएको थियो।

मध्यक्रममा आएका दीपेन्द्रले धैर्यपूर्ण ब्याटिङ गर्दै ४४ बलमा तीन चौका र दुई छक्का हिर्काउँदै ५० रन पूरा गरेका हुन्। उनी विश्वकपमा अर्धशतक बनाउने दोस्रो नेपाली खेलाडी बने। सन् २०१४ मा सुवास खकुरेलले अर्धशतक बनाएका थिए। त्यसपछि एकैपटक सन् २०२६ मा नेपालले अर्धशतक बनाएको हो।

यसअघि दीपेन्द्रले गुल्सन झासँग २६ बलमा २७ रन बनाउँदै नेपालको स्कोर बढाएका थिए। यसअघि दीपेन्द्रले नै लोकेश बमसँग २५ बलमा २३ रनको साझेदारी गरेका हुन्। १८औँ ओभरमा सोमपाल र दीपेन्द्रले ज्यासन होल्डरबाट १६ रन जोड्दै नेपालको स्कोर बढाएका थिए।

सोमपालले १५ बलमा चार चौकासहित अविजित २६ रनको योगदान गरेका थिए। प्रशिक्षक स्टुआर्ट लले यसअघि दुवै खेलमा बेन्चमा राखेका सोमपाल कामीलाई तेस्रो खेलमा अवसर दिएका थिए। उनले ललित राजवंशीलाई प्रतिस्थापना गरेका हुन्। योसँगै सोमपाल तीन फरक विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन्। उनले सन् २०१४ र सन् २०२४ को विश्वकप पनि खेलेका थिए। सन् २०१४ मा विश्वकप खेलिरहेका सोमपाल मात्रै यो विश्वकप खेलिरहेका छन्।

सुरुको पाँच बलमै कुशल भुर्तेललाई एक रन बनाउँदा अकिल हुसैनले बोल्ड गरेका थिए। वेस्ट इन्डिजले पहिलो ओभरमै स्पिनर ल्याउँदै नेपाललाई दबाबमा राख्न खोज्यो। तीव्रगतिका बलर म्याथ्यु फोर्डले रोहित पौडेललाई ३.१ ओभरमा दोस्रो विकेटको रूपमा बोल्ड गरे। त्यतिवेलासम्म रोहितले मात्र सात बलमा पाँच रन बनाउँदा नेपालले १७ रन जोडेको थियो।

पाँचौँ ओभरमा आएका ज्यासन होल्डरले १० बलमा ११ रन बनाएका ओनपर आसिफ शेखलाई पहिलो बलमै आउट गरे। छक्का हान्ने चक्करमा रहेका आसिफलाई फाइन लेग फिल्डर हेटमायरले तेस्रो विकेटको रूपमा क्याच गरेका थिए। नेपालले चौथो विकेटको रूपमा मध्यक्रमका ब्याटर आरिफ शेखलाई ६.३ ओभरमा दुई रन बनाउँदा गुमायो। होल्डरले व्यक्तिगत दोस्रो विकेट लिँदा आरिफलाई फोर्डबाट क्याच गराएका हुन्।

मध्यक्रममा सम्हालिने प्रयास गरेका लोकश बम पनि १३ रन बनाउँदा पाँचौँ विकेटको रूपमा आउट भए। १५ बलमा दुई चौका प्रहार गरेका लोकेशलाई सामर जोसेफले विकेटकिपर तथा कप्तान होपबाट क्याच गराएका थिए।

दीपेन्द्रसँग सम्हालिने कोसिस गरेका गुल्सन पनि १४ बलमा ११ रन बनाएर आउट भए। एक छक्का प्रहार गरेका दीपेन्द्रलाई रोस्टन चेजले १४.७ ओभरमा बोल्ड गरे। गुल्सन यसअघि इंग्ल्यान्ड र स्कटल्यान्डविरुद्ध पनि ठुलो स्कोर बनाउनबाट चुकेका थिए। उनी आउट हुँदा नेपालले ६ विकेट गुमाउँदा ७३ रन जोडेको थियो।

वेस्ट इन्डिज यसअघि सन् २०१२ र सन् २०१६ मा च्याम्पियन भएको थियो। यस्तै, सन् २००९ र सन् २०१४ सेमिफाइनल खेलेको थियो। पछिल्लोपटक भने टोली सुपर ८ बाट बाहिरिएको थियो।

सम्बन्धित समाचार

ताजा न्यूज