बिहि, कार्तिक ६, २०८३
14.1 C
Kathmandu

कुलमानको पार्टीको चुनावी प्रतिबद्धता, मतदातालाई उम्मेदवार मन नपरे ‘नो भोट’

काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले प्रदेशका मुख्यमन्त्री जनताबाट प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने प्रतिबद्धता गरेको छ।

आइतबार निर्वाचन प्रतिबद्धतापत्रको सारांश सार्वजनिक गर्दै उज्यालो नेपालले प्रदेश सरकारको स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीको व्यवस्था गर्ने घोषणा गरेको हो।

राज्यको खर्च कटौती गर्ने उद्देश्यसहित सङ्घीय सांसदको सङ्ख्या २७५ बाट २०१ र प्रदेश सांसदको सङ्ख्या ५५० बाट ३३० मा झार्ने प्रस्ताव गरिएको छ । साथै, मन्त्रालयको सङ्ख्यासमेत उल्लेख्य रूपमा घटाउने नीति लिइएको छ ।

घोषणापत्रमा विकासलाई गति दिन स्वतन्त्र उम्मेदवारहरूबिच मात्र प्रतिस्पर्धा हुने गरी स्थानीय निर्वाचनलाई निर्दलीय बनाउने प्रतिबद्धता गरिएको छ।

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै पार्टीले भ्रष्टाचारीलाई सार्वजनिक पदमा आजीवन प्रतिबन्ध लगाउने र निजको सम्पत्ति राष्ट्रियकरण गर्ने कठोर प्रतिबद्धता जनाएको छ । मतदातालाई उम्मेदवार मन नपरे ‘नो भोट’ को विकल्प उपलब्ध गराउने विषय पनि घोषणापत्रमा समेटिएको छ ।

आर्थिक तथा सामाजिक क्षेत्रतर्फ पार्टीले महत्त्वाकाङ्क्षी लक्ष्य अघि सारेको छ । सन् २०३० सम्म वार्षिक ९ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने र हरेक वर्ष ९ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ । ‘उज्यालो नेपाल’ अभियानअन्तर्गत प्रत्येक घरपरिवारलाई जलविद्युत् आयोजनाको कम्तीमा १ हजार कित्ता सेयर प्राथमिक मूल्यमै उपलब्ध गराउने बाचा गरिएको छ ।

त्यस्तै, विश्वविद्यालय तहसम्मको शिक्षा तथा तोकिएका स्वास्थ्य संस्थामा स्वास्थ्य उपचार निःशुल्क गर्ने, र ‘कमाउँदै पढ्दै’ नीतिअन्तर्गत विद्यार्थीलाई इन्टर्नसिपको व्यवस्था गर्ने प्रतिबद्धता पार्टीले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा न्यूज