काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा मृत्यु भएकाहरूको पोस्टमार्टम सुरु भएको छ ।
पोस्टमार्टमका लागि तीन टोली खटिएको त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीले जानकारी दिएका छन् ।
कसरी मृत्यु भएको भन्ने थाहा भएपनि व्यक्ति चिनिने अवस्थाको नभएकोले आफन्तले दिएको हुलियाका आधारमा पोस्टमार्टम गर्न सुरु भएको छ । पोस्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर अस्पतालका चिकित्सक खटिएका डा. चौधरीले बताए ।
उनका अनुसार एक वटा शवलाई पोस्टमार्टम गर्नका लागि चार घन्टाभन्दा बढी समय लाग्छ ,‘सबैको पहिचान भएपछि मात्रै आफन्तलाई शव दिन्छौं,’ डा चौधरीले भने ।
बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्नेबित्तिकै दुर्घटना भएको थियो ।
जसमा परेर १८ जनाको मृत्यु भएको छ । घाइते पाइलट मनिष शाक्यको सिनामंगलस्थित केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
