काठमाडौं । हैजाको लक्षण देखिएर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा सोमबार भर्ना भएका तीन जना बिरामी अस्पतालबाट भागेका छन् ।
ती व्यक्तिलाई हैजा हुनसक्ने शंका गरिएको अस्पतालका निर्देशक डा. युवानिधि बर्सौला जानकारी दिएका छन् ।
ललितपुर गोदावरी नगरपालिकास्थित ठैबको एक सुधार गृहमा रहेका १६ वर्षीय एक किशोरमा सोमबार हैजा पुष्टि भएको थियो । त्यसपछि सुधार गृहमा झाडापखाला लागेका शंकास्पद बिरामीलाई टेकु ल्याइएको थियो ।
गृहका ४० र २१ वर्षका दुई जना पुरुषलाई वार्डमा भर्ना गरिएको थियो भने करिब २८ वर्षका एक पुरुषलाई आकस्मिक कक्षमा नै भर्ना गरिएको थियो ।
‘शौचालय जाने निहुँ पारेर सोमबार २ बजे राति भ्यालबाट भागेका रहेछन् । उनीहरू अहिलेसम्म सम्पर्कमा छैनन्,’ डा. बसौलाले भने ।
अस्पतालका अनुसार तीनै जना हैजा शंकास्पद बिरामीले अस्पतालमा भर्ना हुने बेलामा केही भएको छैन, किन हामीलाई समातेर ल्याएको भन्दै भर्ना हुन मानेका थिएनन् ।
सुधार गृहमा जानकारी लिँदा अस्पतालबाट भागेका बिरामी नपुगेको जानकारी पाएको डा. बसौलाले बताए ।
‘तीनै जनाको कल्चर परीक्षण भइरहेको छ । केन्द्रका एक जनामा हैजा पुष्टि भएसँगै उहाँहरूलाई पनि लक्षणको आधारमा हैजा हुनसक्ने आशंका गरिएको छ,’ डा. बसौलाले भने, ‘उहाँहरूमा हैजा पुष्टि भए अरू व्यक्तिमा पनि सर्ने सम्भावना रहन्छ ।’
