काठमाडौं । चितवनको भरतपुर महागनरपालिका ७ का बासिन्दाले पूर्वपश्चिम रेलमार्गको सर्भे गर्ने भन्दै आएको टोलीलाई नियन्त्रणमा लिएका छन् ।
सरकारबाट अनुमति लिएर आएको दाबी गर्ने आरएच कन्सल्टेन्सीको टोलीलाई स्थानीय बासिन्दाले गाडी र उपकरणसहित घेराउ गरेका हुन् ।
सो टोलीले मंगलबार भरतपुर महानगरपालिका-८ मा सर्भे गरेको थियो । आज वडा नं। ७ मा सर्भे गर्दागर्दै २र३ सय जना स्थानीय भेला भएर सो टिमलाई नियन्त्रणमा लिएका संर्घष समितिका सचिव दिब्य नेपालले बताए ।
उनीहरुसँग सोधपुछ भइरहेको र कागजात माग गरिएको संघर्ष समितिका सचिव नेपालले जानकारी दिए ।
‘हामीले सरकारबाट अनुमति पाएको कागजात देखाउ भनेर मागिरहेका छौं, उनीहरुले देखाउन सकिरहेका छैनन्’, सचिव नेपालले भने, ‘कागजात नल्याएसम्म सर्भे गर्न दिँदैनौं । पूर्वपश्चिम रेलमार्ग भरतपुरका विभिन्न घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको भन्दै स्थानीय बासिन्दाले चरणवद्ध संर्घषका कार्यक्रम गर्दै आएका छन् ।’
बस्तीलाई उजाड बनाएर रेल मार्ग लैजान नदिने र अहिले गरिएको सर्भे नै परिवर्तन गर्नुपर्ने माग उनीहरुले गर्दै आएका छन् । चितवनमा रेलमार्गको प्रस्तावित रुट भरतपुर महानगरपालिकाको वडा नं ८, ७ र ४ हुँदै नवलपरासीतर्फ जानेछ ।
यसअघि, भरतपुर महानगरपालिकाको पहलमा महानगरपालिकामा नै संर्घष समिति र रेल विभाग तथा अन्य सरोकारवाला सरकारी निकायहरुका बीचमा छलफलसमेत गरिएको थियो ।
त्यसबेला रेलमार्गको अहिले गरिएको सर्भेको रुट परिवर्तन गरेर बस्तीलाई कम क्षति गराउने विकल्पमा जाने सहमति भएको थियो । तर, अहिले फेरि रेलमार्गका नाममा सर्भे थालिएपछि यहाँका स्थानीयहरु सशंकित बनेका छन् ।
