काठमाडौं । पर्याप्त छलफल र तयारी विनै आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको लागि दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा त्रुटि नै त्रुटि पाइएको छ ।
५८ चुनाव चिह्नमा उम्मेदवारको बन्दसूची बुझाएका ६४ वटै दलबाट त्रुटि भएको पाइएको आयोगले जनाएको छ । १३ र १४ पुसमा दलहरूबाट बन्दसूची लिएको आयोगले पुस १५ देखि २० गतेसम्म जाँचबुझ गरी सच्याउन पत्राचार गरेको छ ।
कुनै पनि दलको बन्दसूचीमा रित नपुगेको आयोगका अधिकारीहरू बताउँछन् । रित पु¥याएर सच्याउन भन्दै सबै दललाई पत्राचार गरिएको आयोगको कानुन तथा राजनीतिक महाशाखाले जनाएको छ ।
आयोगका अनुसार सबैभन्दा भद्रगोल पुरानो दल कांग्रेसको सूचीमा छ । कांग्रेसको सूचीमा धैरै मिलेको छैन । एमाले, नेकपा, रास्वपालगायतका दलको बन्दसूचीमा पनि थुप्रै त्रुटि पाइएको आयोगका अधिकारीहरूले बताएका छन् ।
त्रुटि सच्याउन दलहरूलाई यही पुस २७ गतेसम्मको समय दिइएको छ ।
