काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमालेका सांसद सोनाम गेल्जेन शेर्पाले विकासका संरचनालाई वैज्ञानिकरण गर्न नसक्दा नेपालले विपद्जन्य क्षति बढी व्यहोरिरहेको बताएका छन्।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले विपद् व्यवस्थापनमा वैज्ञानिक प्रणाली अपनाउन नसकिएको बताए।
‘हामीले ठूलो क्षति व्यहोरिसकेका छौँ। यो देशको लागि पनि ठूलो क्षति हो। विपद् व्यवस्थापनमा हामीले वैज्ञानिक प्रणालीबाट बस्ती बसाउन सकेनौँ। त्यसकारण पनि धेरै क्षति भयो। विकासका संरचनालाई पनि वैज्ञानिकरण गर्न सकेनौँ। विकासमा नाममा हामीले डोजर लगाएर जहाँ पायो त्यहीँ काम ग¥यौँ। सरकारले यसतर्फ ध्यान दिनुपर्छ,’ सांसद शेर्पाले भने।
देशले अहिले बाढी, पहिरो लगायतका विपद्जन्य घटना व्यहोरिरहेको उल्लेख गर्दै उनले बाढी, पहिरो लगायत विपद्मा परी साउन ३ गते दिउँसोसम्म १२५ जनाको मृत्यु भएको जानकारी गराए।
