काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्दै स्थगित भएको छ ।
बिहीबार बोलाइएको बैठकमा बजेट आश्रित विधेयकहरू पारित गर्ने कार्यसूची थियो । तर बजेट आश्रित विधेयकमा एमालेले राखेको संशोधन प्रस्ताव कांग्रेस र एमालेले मिलेर पास गर्न खोजेपछि बैठक सुरु नै हुन सकेन ।
असार १६ गते प्रतिनिधि सभाबाट बजेट आश्रित विधेयकहरू आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक पारित भएको थियो ।
प्रतिनिधि सभाबाट पारित भएका यी तीन वटा विधेयकमध्ये आर्थिक विधेयकको एउटा दफामा एमालेले राष्ट्रिय सभामा संशोधन प्रस्ताव राखेको छ ।
प्रचलित ऐनको दफा ५७ ९१० मा कुनै निकायको विगत तीन वर्ष अघिसम्मको स्वामित्वको तुलनामा ५० प्रतिशत वा सोभन्दा बढी स्वामित्व परिवर्तन भएमा सो निकायले आफ्नो स्वामित्वको सम्पत्ति वा आफूले बहन गरेको दायित्व निःसर्ग गरेको मानिने उल्लेख छ ।
यो प्रावधानमा प्रतिबन्धात्मक वाक्यांश थपेर ‘तर साबिकका शेयरवाला तथा साझेदारको शेयर संख्या र पुँजी यथावत रही नयाँ शेयरवाला तथा साझेदार थप भई पुँजी वृद्धि भएको अवस्थामा यो उपदफाको व्यवस्था लागू हुने छैन,’ भन्ने प्रावधान राख्ने सरकारको प्रस्ताव छ ।
यो थप भएको व्यवस्था हटाउनुपर्ने एमालेको माग छ ।
