नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्रधानमन्त्रीले प्वाल पारेको डुङ्गामा बसेर तपाईंहरू कता जाँदै हुनुहुन्छ भन्दै प्रश्न गरेका छन् ।
आइतबार बसेको प्रतिनिधि सभाकोे बैठकमा विशेष समय लिएर बोल्दै सांसद भट्टराईले यस्तो आग्रह गरेका हुन्।
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्वाल पारिसकेको डुङ्गामा बस्न उपयुक्त नभएको सुझाव समेत दिएका छन्। ‘म राष्ट्रिय स्वतन्त्र पार्टीलाई भन्न चाहन्छु, उहाँहरू सत्तापक्षमा बस्नुभएको छ। उहाँहरूको पार्टीको निर्णय र इच्छा हो। हामीले भन्नु केही छैन,’ भट्टराईले भने, ‘तर प्रधानमन्त्रीले प्वाल पारि सकेको डुङ्गामा बसि रहनु भएको छ भने तपाईंहरू कता जाँदै हुनुहुन्छ। एक पटक सोच्नुहोला। राष्ट्रिय स्वतन्त्र पार्टीले जुन ढङ्गले अरुलाई पद र गरिमाको प्रश्न उठाई राख्नु भएको छ। त्यस हिसावले सोच्न आग्रह गर्दछु।’
रास्वपाले प्रधानमन्त्रीलाई साथ दिइरहँदा अरूलाई पद र गरिमाका विषयमा उठाएको प्रश्नले सार्थकता नपाउने उनको भनाइ थियो।
