काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको प्रयास भइरहेको बताएका छन् ।
नेकपा एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनका क्रममा अरू वामपन्थी दल पनि एक हुनुपर्नेमा उनले जोड दिए ।
“चुनावअघि र समाजवादी मोर्चा हुँदै एकीकृत समाजवादी र माओवादी सकेसम्म एउटै पार्टी बनाउने प्रयास गरिरहेका छौँ । देशका वामपन्थीहरू एक हुनुपर्छ,” उनले भने ।
उनले एकीकृत समाजवादीको महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि टिप्पणी गर्दै भने, “तपाईंहरूले दस्तावेजमा अलिक नजिकको पनि भन्नुभएको छ, माओवादी अलिक बढी अस्थिर भन्नुभएको छ ।”
प्रधानमन्त्री प्रचण्डले आफू अस्थिर नभएको भए ‘जनयुद्ध’ नहुने भन्दै शान्ति सम्झौता पनि त्यसैको उपज भएको जिकिर गरे । “युद्धबाट शान्तिमा आयो भने गतिशीलता हो, अस्थिरता होइन,” उनले भने ।
आफूले सरकारको नेतृत्व गरेदेखि भ्रष्टाचारविरुद्ध लगातार पहलकदमी अघि बढाइरहेको र भ्रष्टाचार मुद्दामा धेरै गिरफ्तार भएको प्रचण्डले दाबी गरे । तैपनि अहिले सबै भष्टमात्र छन् भनेर प्रचारबाजी भइरहेको भन्दै उनले असन्तुष्टि जनाए
